टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित द ब्राभो डेल्टा शो नयाँ शैली र प्रस्तुतिका साथ पुनः दर्शक माझ आउने भएको छ ।
१ सय २४ भाग लामो यात्रापछि केही समय विश्राम लिएको यस कार्यक्रमको दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । प्रत्येक सोमबार प्रशारण हुने यस कार्यक्रम साझा कथा युट्यूब च्यानलबाट समेत प्रशारण हुनेछ । सूचना, समाचार र मनोरञ्जनको त्रिवेणी बनेको हिमालय टेलिभिजनले भुषण दाहाल र द ब्राभो डेल्टा शो टिमसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।
द ब्राभो डेल्टा शोको सिजन २ अब अन्तर्वार्ता र बनिबनोट स्टुडियोमा मात्र सिमित नरहने प्रस्तोता भुषण दाहाले जानकारी गराए । समय र परिस्थितिले खोजे अनुरुपको विषयवस्तु र पात्र संसारभरबाट रेकर्ड गरी कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने योजना कार्यक्रम उत्पादक टिमको छ । नेपाली जनजीवनको तस्बिर बनेको यस कार्यक्रमको केन्द्रविन्दुमा सदाझैं देश र जनता रहनेछन् । राजनीतिक र सामाजिक विषयवस्तु कार्यक्रमको आकर्षण हो तर आर्थिक समृद्धि, विकास र जनजीविका अबका प्राथमिकताका क्षेत्र हुन् ।
जनता, समाज र देशको कथा भन्दै तीन दशक लामो टेलिभिजन कर्मको यात्रा पार गरेका टेलिभिजनकर्मी भुषण दाहाल राष्ट्र, राष्ट्रियता, स्वाधिनता र लोकतन्त्रप्रति सधैं प्रतिवद्ध छन् । सबैको आफ्नै शो बनेको द ब्राभो डेल्टा शोप्रति आम दर्शकको अगाध माया र स्नेह पुनः उसैगरी पाउने अपेक्षा निर्माण टिमको छ । कार्यक्रमको उत्पादन अल थ्री मिडिया प्रालिले गर्नेछ भने कार्यक्रमको निर्देशन पदम तिमिल्सिनाले गर्ने भएका छन् ।