वैशाख १५ उपनिर्वाचनः इलाममा २०, बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

साझा कथा । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २मा २० जना र बझाङ प्रदेशसभा (१) मा १२ जना गरी ३२ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आगामी वैशाख–१५ गते हुने उप–निर्वाचनको कार्यतालिका सार्वजनिक गरे अनुसार इलाम र बझाङबाट चैत्र २४ गते (शनिवार) ३२ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट बाह्र वटा राजनैतिक दल र आठ स्वतन्त्र २० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सुहाङ नेम्बाङ्ग, नेपाली काँग्रेस बाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी बाट मिलनकुमार योङ्गहाङ्ग लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)बाट जीतबहादुर राई छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली, मङ्गोल नेशनल अर्गनाइजेसनका मणीकुमार लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार छन् ।

त्यस्तै स्वतन्त्रतर्फ डकेन्द्रसिंह थेगीम, डाकप्रसाद गौतम, मनोज निरौला(प्रदीप) अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ्ग, राज बस्यालले मनोनयन दर्ता गराएका छन् ।

यता बझाङ प्रदेशसभा (१)का लागि १२ जना उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र(बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री छन् ।

त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आगामी वैशाख–१५ गते हुने उप–निर्वाचनको कार्यतालिका विज्ञप्ति मार्फत सार्वजनिक गरेको । आयोगले चैत्र २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता गरि सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरेको थियो ।

त्यस्तै, आज चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम तय भएको छ । उक्त उजुरीमाथि जाँचबुझ गरी सोही दिन बेलुकी ५ देखि ६ बजेसम्मा उम्मेदवारको नमावली प्रकाशन गरिने कार्यक्रम छ ।

त्यस्तै, उम्मेदवारको नाम फिर्ता लिनका लागि चैत्र २७ गते बिहान ९ बजेदेखि १ बजेसम्मको समय छुट्याइएको छ। सोही दिन दिउँसो १ देखि ३ बजे सम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?