मुकुन्द पौडेलको ‘मन मूच्र्छना’ पुस्तक लोकार्पण

साझा कथा । मुक्तककार मुकुन्द पौडेलको चौथो कृति ‘मन मूच्छर्ना’ मुक्तक सङ्ग्रह एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । आवरण प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले कृति लोकार्पण गर्दै कृतिकार पौडेलको मुक्तकले आजको समयको यथार्थलाई प्रतिबिम्बन गरेको र कृतिमा समावेश मुक्तक समसामयिक, रोचक र घोचक रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री शंकरप्रसाद कोइराला र रामकाजी कोनेले कृतिकारलाई शुभकामना दिए । कोइरालाले मुक्तक सिर्जना आफैँ कठिन र चुनौतीपूर्ण विषय रहेको बताउँदै दिव्य शताब्दी पुरुष प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुनु नै पनि विशिष्ट अवसर हो भने । सभाध्यक्ष प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘मन मूच्छर्ना’ का स्रष्टाका शब्दमात्र नभई व्यक्तित्वसमेत सालिन र सरल रहेको बताए । उनले एक प्रसङ्गमा भने, “लेख र साहित्यलाई अहिले मुलुकमा रगतको सौन्दर्यसँग जोड्ने भन्ने विचित्रखाले सोच अघि बढेको छ, जुन विडम्बनापूर्ण छ ।”

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले थोरै शब्द र भावमा धेरै भन्न सकिने हुनाले मुक्तकले साहित्य विधामा बेग्लै विशिष्ट पहिचान बोकेको बताए । कृतिका स्रष्टा पौडेलले आफ्नो ७० औँ जन्मोत्सवको अवसर पारेर प्रकाशन गरेको कृतिमा समावेश मुक्तक सिर्जनाका परिवेशबारे बताए । कृतिको समालोचना गर्दै समालोचक घनेन्द्र ओझाले गाउँको परिवेश, राज्यका समसामयिक विषयमा देखेको, भोगेको, सुनेको र अनुभूति गरेका विषयलाई स्रष्टाले सरल भाषामा परिस्कृत र गुणस्तरीय ढङ्गले मुक्तक प्रस्तुत गरेको बताए ।

अर्का समालोचक केदारनाथ खनालले सरल भाषा र मुक्तकीय संरचनाका सबै विषयवस्तुको पालनासहितका मुक्तक मीठो भाषा र झिल्का दिने रहेको प्रतिक्रिया दिए । समालोचक गोविन्दराज विनोदीले तरल, सरल, मुक्तकीय अभिव्यक्तिद्वारा स्रष्टाले समाजमा एकता, न्याय, समता, समृद्धि र शान्तिको स्थापना होस् भन्ने चाहनुभएको बताए । उनले भाषा, साहित्य तथा संस्कृति प्रेम, पुर्खाहरूको गैरवगाथाको सम्झना, नेपालीको कर्तव्य, देशबन्धुत्वको स्मरण मुक्तकमा पाइने बताए । अर्का समालोचक रामबाबु घिमिरेले मुक्तककार पौडेल विचारलाई पनि भावनामा रुपान्तरित गर्न सक्षम भएको उल्लेख गरे ।

गीतहरु समेत लेख्दै आएका पौडेलका थुप्रै साँगीतिक भिडियोहरु पनि युट्युवमार्फत सार्वजनिक भएका छन् । अवारण प्रकाशक रही मूल्य तीन सय कायम गरिएको उक्त कृतिमा बेथिति, भ्रष्टाचार, रमाइला प्रेम प्रसङ्ग र सांस्कृतिक विचलनसहित तिन सय ४८ मुक्तक समावेश छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?