साझा कथा । आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे ।
तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडा दौडाउँदै गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने-बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहिआएको छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ । घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्दैछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र मन्त्रिले सेनाको अश्वकला अवलोकन गर्ने चलन पनि छ । सरकारले घोडेजात्राको अवसरमा सोमबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।