घोडेजात्रामा सिस्नुपानीको ‘राष्ट्र’ (फोटो कथा)

साझा कथा । घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा सिस्नुपानीको ‘राष्ट्र’ कार्यक्रम सम्पन्न भएको छ । देशको राजनीति र सामाजिक क्षेत्रको विकृति विसङ्गतिलाई व्यङ्ग्य गर्दै आएको सिस्नुपानी नेपालले ‘राष्ट्र’ कार्यक्रम गरेको हो ।

घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा सरकारका प्रतिनिधि र विभिन्न दलका नेता कार्यकर्ता लगायतलाई अगाडि राखेर सिस्नुपानीका कलाकारहरुले अहिलेको राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक रुपमा विभिन्न प्रस्तुत प्रदर्शन गरेका थिए ।

कार्यक्रममा गायिका मेनुका पौडेलले राष्ट्र गायन गरेकी थिइन् भने नेपाली सेनाले जय जय जय गोर्खाली शीर्षकको गीतमा राष्ट्रभक्ति नृत्य देखाएको थियो । मनोज गजुरेल र चक्र दवाडीले शहिदगेट शीर्षकमा प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्त्यमा भक्तराज आचार्य स्मृति गीत प्रस्तुत गरिएको थियो । जसममा दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, मुरलीधर, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, संगीता राना प्रधान, लोचन भट्टराई, कुन्ति मोक्तान, देविका बन्दना, आनी छोइङ, धिरेन्द्र प्रेमर्षि, सत्यराज र स्वरुपराज आचार्यले सामूहिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमका परिकल्पनाकार तथा संयोजक टंक आचार्यले राष्ट्र हामी सबैको आस्था र आमा रहेको भन्दै भूगोल जनता र सरकारभन्दा माथि राष्ट्र रहनुपर्ने सन्देश दिन कार्यक्रम निर्माण गरेको बताए ।

‘राष्ट्र भन्नु मुर्त कुराका साथै अमूर्त भाव र सम्मान पनि हो । आज यति सुन्दर राष्ट्र छोडेर जीविकोपार्जनका लागि विदेशीने कर्मशील नेपाली र सधैंको लागि विदेश पलायन हुनेको संख्या निकै बढेको छ । कतिपय नागरिक यसै राष्ट्रमा बसेर पनि निराशाको बादलमा रूमलिएको पाइन्छ । राष्ट्र निर्माणमा अतुलनीय योगदान दिने कति व्यक्ति र विषय ओझेलमा परेका छन्’, संयोजक आचार्यले भने, ‘यसै सन्दर्भमा नेपाली समाजको एकता र समृद्धि राष्र् र राष्ट्रियताप्रतिको भकक्तिभाव एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्नने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा कार्यक्रम गरिएको हो । मानवमूल्य र इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको बाटो प्रस्तुत हुने गरि साहित्य कला र विचारको कार्यक्रम गरिएको हो ।‘

साथै, कार्यक्रममा सिस्नपानी नेपालले गायिका मेनुका पौडेललाई सम्मान गरेको थियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा गायिका पौडेललाई एक लाख रुपैयाँ हस्तान्तरण गरियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल , पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री झलनाथ खनाल ,मन्त्रीहरू‚ विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए । कार्यक्रमको व्यवस्थापन भने अल थ्री मिडिया घरले गरेको थियो ।

तस्विरः प्रकाश गोपाली, शिव श्रेष्ठ/साझा कथा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?