साझा कथा । नेपाल भूगोलमा सानो र आर्थिक हिसाबले केहि तल भए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तव्यहरु छन् ।
हुन त घुमफिर गर्नका लागि आत्तिएको मनलाई कस्ले पो समाल्न सक्छ र ? त्यसमाथि नयाँ वर्ष पनि आउँदै छ । नयाँ वर्षमा हामीमध्ये धेरैले घुम्न जाने योजना बनाउँछौं । तर, घुम्ने ठाउँको बारेमा जानकारी नहुँदा अलमलिइरहेका हुन्छौं । घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ । त्ससबारे पूर्व सुचना आवश्यक छ । यदि तपाई काठमाडौंमा बसिरहनु भएको छ र राजधानी नजिकैका गन्तव्यहरुमा घुम्दै रमाइलो गर्ने योजना बनाउनु भएको छ भने छुटाउनै नहुने एउटा ठाउँ हो, थानकोटमा अवस्थित त्रिभुवन पार्क ।
काठमाडौँको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको त्रिभुवन पार्क, जहा उपत्यकाबासीहरु आफ्नो फुर्सदको समयमा शान्त वातावरणको खोजीमा यस स्थानमा जाने गर्दछन् । राजा त्रिभुवनको नामबाट नामाकरण गरिएको यो पार्क पिकनिक स्पटको लागि अहिले उपयुक्त गन्तव्य बनेको छ ।
त्रिभुवन पार्कभित्र १५ वटा पिकनिक स्पटहरू छन् । जसमा १५० जनादेखि ४०० जनासम्म अट्ने क्षमता भएको र स्पट अनुसार २ हजारदेखि ४ हजार रुपैयाँसम्म शुल्क तोकिएको पार्क व्यवस्थापनले जनाएको छ ।
हरियाली जंंगलभित्रका स-साना बगैंचा र चराचुरुङ्गीको चिर्बिर/चिर्बिर आवाजले आमन्त्रण गरिरहेका आभास हुन्छ । साथीभाईहरुसँग जमघट गरेर पिकनिक गर्ने गर्नका लागि यो पार्क उपयुक्त छ । यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ । पारिवारिक वातावरणमा घुम्न आनन्द आउने यो पार्कमा बालबालिकाहरुका लागि खेल्ने सुविधासम्पन्न पार्कको सुविधा भएको भए अझ बढी उपयुक्त हुन्थ्यो ।
शान्त वातावरणमा रहेको यो पार्क कलंकीबाट ६ किलोमिटर दूरीमा रहेको छ । यस स्पटमा पुग्न रत्नपार्क, कलंकीबाट सार्वजनिक गाडी पाइन्छ । गाडीमा जाँदा उक्त स्थानमा करिब १६ मिनेटमा पुगिन्छ ।