आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन: मैदानमा घिमिरे र पुडासैनी

साझा कथा । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज (बुधबार) निर्वाचन हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।

उपाध्यक्षका लागि मङ्गलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् । एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नेछन् ।

त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ । सत्ता गठबन्धनसँग बहमुत भएकाले राष्ट्रिय सभा उपाध्यक्ष पदमा कपिलवस्तुकी घिमिरे निर्वाचित हुने पक्काजस्तै छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?