राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

साझा कथा । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी नेतृ विमला घिमिरे निर्वाचित भएकी छन् । आज भएको राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे विजयी भएकी हुन् ।

सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा एमालेबाट विमला घिमिरेलाई उमेदवार बनाएको थियो । राष्ट्रिय सभाको बैठकमा आज उपस्थित जम्मा ५५ सांसद मध्ये घिमिरेको पक्षमा ३९ मत र उनको विपक्षमा १६ मत परेको थियो । राष्ट्रिय सभामा कुल ५९ जना सांसद छन् । राष्ट्रियसभाको उपाध्यक्षमा भएको निर्वाचनमा माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी घिमिरेले ३९ मत प्राप्त गरेकी थिइन । घिमिरेलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी दलको समर्थन रहेको थियो । पुडासैनीलाई कांग्रेससँगै लोसपाका समर्थन थियो ।

को हुन् विमला घिमिरे ?

२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन् । तत्कालीन नेकपाबाट निर्वाचित उनी नेकपा विभाजन भएर माओवादी केन्द्र र एमाले बन्दा एमालेमै रहेकी थिइन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् । कपिलवस्तुको वाणगंगा निवासी घिमिरेको जन्मस्थान भने अर्घाखाँची जिल्ला हो ।

२०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी घिमिरे २०७८ सालमा नेकपा (एमाले) केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । त्यस्तै उनी तत्कालीन नेकपाको केन्द्रीय सदस्य, २०६८ मा नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६मा पार्टी जिल्ला कमिटी उप सचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरेकी थिइन् ।

अनेमसंघमा रहँदा उनी जिल्ला कमिटी सचिव, पार्टी इलाका कमिटी सदस्य, अनेम संघ जिल्ला सचिव भएर समेत काम गरेकी थिइन् । राष्ट्रियसभामा एमालेका १० मध्ये घिमिरेसहित सात महिला सांसद छन् । ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी उनको कार्यकाल अब मात्र दुई वर्ष बाँकी छ ।

राष्ट्रियसभामा माओवादी केन्द्र ठूलो दलका रूपमा छ । अध्यक्षसहित माओवादीका १८ सांसद छन् । नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ सांसद छन् । जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका १ र राष्ट्रिय जनमोर्चा १ सांसद छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?