इलाम २ उपनिर्वाचनः नयाँ वर्षमा भोट बदल्ने संकल्प गरौं

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

रामकृष्ण शर्मा

अमेरिकी लेखक जेम्स फ्रिमेन क्लार्कले भनेका थिए, ‘एउटा राजनीतिज्ञले आगामी चुनावको बारेमा मात्रै सोँच्छ, तर एउटा राजनेताले अर्को पुस्ताको विषयमा सोँच्छ ।’ नेपालको राजनीति पञ्चायतयता चुनावदेखि चुनावसम्मको तयारीमा वितिरहेको छ, राजनेता बन्ने सोँचमा सायदै कोहि छ । सत्ताबाहेक सबथोक भ्रम हो भन्ने बुझाईले ग्रसित नेपाली राजनीतिज्ञ र उनीहरुको असक्षमताको सिकार नेपाल भइरहेको छ, र यो अद्यपी जारी हुने देखिन्छ । चुनावदेखि चुनावको तयारीमा मात्रै रुमल्लिने नेपालका राजनैतिक पार्टीहरुको लागि अर्को एउटा चैते दशैँ आएको छ – इलाम २ को उपचुनाव । खासमा इलाम २ को उपचुनाव दलहरुको लागि लिटमस टेस्ट बनेको छ । अर्थात दलहरुमा कति पाइन छ भनेर सांकेतिक लेखाजोखा गरिने समय हो यो उपचुनाव । तर यो लिटमस टेष्ट होइन, शीर्ष पार्टी रिजेक्ट गर्ने समय हो । इलाम २ मा मुख्यगरी ४ जना उम्मेदवार दृश्यमा छन् । मिडियाले २ जनालाई मुख्य पात्र बनाएर उभ्याएपनि काँग्रेसका डम्बर बहादुर खड्का र हर्क साम्पाङ्ग पक्षधर डकेन्द्र सिंह थेगिम पनि कमजोर पात्र होइनन् ।

म यो चुनावमा एक–कसले हार्नुपर्छ र किन ? र दुई–कसले जित्नुपर्छ र किन ?? भन्नेमा विषय केन्द्रित गर्नेछु ।

सुरुमा चर्चा गरौँ स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको । उनी पहिचान पक्षधर हुन् । जातिय, भाषिक, सांस्कृतिक पहिचानसहितको अधिकार प्राप्तिका लागि उनको उम्मेदवारी भनिएको छ । तर सारमा उनी जातिय पहिचानको मात्रै वकालत गरिरहेका छन् । अर्थात जातिय आधारमा राज्य माग गर्ने समुदायका प्रतिनिधी हुन् उनी । सांसद निर्वाचित भएपछि संसदमा उनको भूमिका के हुनेछ ? सोँच्नुभएको छ ? केहि समय उनले अझै साम्य भइनसकेको कोशी प्रदेशको नामाकरणको विषय उचाल्नेछन् । केहि समय किराँतहरुको लागि छुट्टै रंगशाला, किराँतहरुको लागि छुट्टै आयोग बनाउनुपर्यो भन्नेछन् । त्यसको केहि समयमा उनी पनि हर्क साम्पाङ्ग जस्तै सामाजिक सञ्जालमा उग्र र अराजक स्टाटस लेख्न थाल्नेछन् । एउटा धारोको उद्घाटन गर्ने र विरोधीहरुलाई लात्तै लात्ताले हान्छु भन्ने भाषण दिनेछन् । एउटा सडक उद्घाटन गर्ने अनि कोहि सिंगल सिंगल भिड्न आओस् भन्नेछन् । त्यसको केहि समयपछि उनी दिपक मनाङ्गे हुनेछन्, स्वतन्त्र सांसद मनाङ्गेले झै सत्ताको स्वाद चाख्न पाए त उनी आफूलाई सफल ठान्थे होला तर संसदको अंकगणित हेर्दा २०८४ सम्म त्यो अवसर उनलाई आउनेछैन । कहिले एमालेको पक्षबाट, कहिले माओवादीको पक्षबाट त कहिले काँग्रेसको तर्फबाट टेबल ठटाउने बाहेक उनले अरु केहि गर्न सक्ने छैनन् किनकी उनले चाहेर पनि केहि हुन सक्ने छैन । संसदमा पंगु बनेको हेर्न विचरा थेगिमलाई किन जिताउनु ? त्यसमाथि सचेत नागरिकहरुले जातिवादी, क्षेत्रीयतावादी र विखण्डनबादी प्रवृत्तिलाई सदर गर्न त हुँदै हुन्न ।

परिवर्तन हाम्रै पालामा देख्ने, सुन्ने र हेर्ने हो भने २०८४ को आम चुनावमा विल्कुल नयाँ मान्छेहरुलाई संसद पठाउनुपर्छ ।

अब डम्बर बहादुर खड्काको कुरा गरौँ । सर्वोच्चले भ्रष्टाचारमा दोषी देखाएर जेल सजाय समेत भोगेका तर अहिले दाङ्गको व्यस्त चोकमा ठूलो योगदान गरेझैँ गरी शालिक ठड्याइएका स्व. खुमबहादुर खड्काको पार्टीका अर्का खड्का हुन् उनी । उनले जितेमा काँग्रेसको हैन, शेरबहादुर देउवाको मात्रै १ सिट बढ्नेछ । तपाईलाई थाहै होला, उनी शेर बहादुर देउवाका डाइहार्ड समर्थक हुन् । उनले जितेमा बाँदरको पुच्छर लौरो न हतियार मात्रै बन्नेछन् । न त्यो १ सिटले सरकार बनाउन मद्दत गर्नेछ, न विपक्षमा हुँदा गनगन गर्न आवाज पुुग्नेछ । प्रखर वक्ता भएपनि गगन थापाले जस्तै केहि समय चुरीफुरी देखाउलान् भन्नु । त्यस्तो स्वभाव पनि छैन उनको । सांसद बनेर अर्को हातमा ब्रासलेट थप्ने, संसदीय समितिमा देउवालाई अझ बलियो बनाउने बाहेक उनीबाट केहि हुने छैन, किनकी काँग्रेसबाट के अपेक्षा गर्नु ? अपेक्षाकै अपमान हुन्छ । गगन थापा जस्तो रुचाइएको पात्रले त माखो मार्न नसकेको अवस्थामा खड्काले संसदमा के पकाउलान् ? बदनाम पार्टीका बदनाम सांसद बनाउन विचरा खड्कालाई किन दुःख दिने ? अब चर्चा गरौँ छोरा नेम्वाङ्ग अर्थात सुहाङ नेम्वाङ्गको । पिता सुवासचन्द्र नेम्वाङ्गको छोरा हुनुबाहेक उनीसँग राजनैतिक योगदान केहि छैन । सायद पिता गुमाउनुपर्दा झरेका उनका आँशु अझै ओइलाएको छैनन् पनि होला तर उनी भोट माग्दै घरघर पुगिरहेका छन् । नेकपा एमालेको इतिहास के हो भने एमाले आँशु र झलनाथ खनालका शब्दमा कुकुुरको मासुको व्यापार गर्न सिपालु छ । पिता वा पतिको निधनपछि पत्नी वा छोराछोरीलाई टिकट दिएर १ सिट बढाउँदा एमालेलाई त फाइदै भएको छ होला तर देशलाई केहि फाइदा भएको छैन ।

मदन भण्डारीको निधनपछि सांसद बनेकी विद्या भण्डारीबाट देशले के पायो र ? ओलीको पिछलग्गु हुनुुबाहेक उनले जनताको लागि अरु के गरिन् र ?

एमालेको महिला संगठनको अध्यक्ष हुँदा उनीमाथि नै संगीन आरोप लागेका छन् । पार्टीका इमान्दार महिला कार्यकर्ताहरुले गाउँगाउँमा संगठन निर्माण गर्दै गर्दा उनी मदन भण्डारी फाउन्डेशनका लागि पैसा उठाउन मात्र लागिन् । ओलीको प्रिय पात्र भएकै कारण रक्षामन्त्री हुँदै राष्ट्पतिसम्म भइन् तर देश र जनताको पक्षमा उनले गरेको एउटा राम्रो काम के हो ? कसैलाई थाहा छैन । एमालेका इमान्दार महिला नेतृहरुलाई पाखा लगाउने बाहेक पार्टीमा उनले गरेको राम्रो योगदान पनि छैन । अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीहरुले बेला बेला सार्वजनिक गरेकै विषय हो यो । उनले एमालेमा किन भाउ पाइन् भन्ने विषयमा योगेश भट्राईहरुको २०५४ सालको आरोप सम्झिए मात्रै पुग्छ वा माधव नेपालले भनेको ‘सहिदका पत्नीमा आँखा लगाउने ?’ भन्ने वाक्य सम्झिदिए पुग्छ । एमालेमा कस्ता महिलाहरुले स्थान पाउँछन् भनेर हेर्न हालै राष्ट्रिय सभामा सिफारिस भएकी अञ्जान शाक्यलाई हेरे पुग्छ ।

२०५६ सालको चुनावताका रुकुमका स्थापित नेता यदुनाथ गौतमको हत्यापछि उनकी श्रीमति तिर्था गौतमलाई एमालेले टिकट दियो, उनले जितिन् पनि । तर अहिले उनी कहाँ छिन् ? सांसद जिताएर राष्ट्रनिर्माणमा उनको कति योगदान भयो ? २०६४ सालमा सुर्खेतमा एमालेका नेता ऋषीराम शर्माको हत्यापछि उनकी पत्नी कमला शर्मालाई टिकट दिइयो, उनले जितिन् पनि । तर संसदमा काँग्रेस नेता पूर्ण बहादुर खड्कालाई चप्पल हान्ने बाहेक अरु काम उनले के गरिन् ? लेखाजोखा गर्नलाई केहि काम भएकै छैन । यस्तै एमालेका चर्चित युवा नेता रविन्द्र अधिकारीको निधनपछि सांसद बनेकी विद्या भट्टराईलाई सबैले विर्सिन थालिसके । उनी सांसद छिन् तर उनको भूमिका कहाँ के देखिएको छ ? फेरि विद्या भण्डारीजस्तै शीर्ष तहमा सम्बन्ध सबैको नहुन सक्छ । त्यसैले उनीहरुले ठाउँ पाउने कुरा पनि त भएन । अनि अर्को मान्छे त विर्सनै भएन । दाङ्गको क्षेत्र नम्बर ३ (ख)का तत्कालीन एमाले सांसद उत्तरकुमार वलीको निधनपछि एमालेले राजनीतिमा शून्य योगदान भएकी विमला वलीलाई टिकट दियो, आँशु विक्यो, उनी सांसद भइन् । सांसद भएपछि उनको हर्कत सबैले देखिसके । अहिले उनी गुमनाम छिन् ।

सबथोक गर्न सकिने अवस्थामा भुँई नदेख्ने र केहि पनि बाँकी नरहेपछि शीर निहुराएर हिँड्नेहरुबाट देशले के नै पाउँछ र ?

यो इतिहासले के देखाउँछ भने सुहाङ नेम्वाङ्ग पनि भण्डारी, गौतम, शर्मा र वली जस्तै बन्ने त होइनन् ? उनले आफ्ना बाबुको विरासत थाम्न सक्ने सामथ्र्य राख्छन् ? एमालेमा सुवासको छोराको रुपमा ब्याज चाँहि खाइरहन सक्छन् । पार्टीमा ब्याज खानु र देश जनताको पक्षमा योगदान गर्नु फरक कुरा हो । उनको बोली सुन्दा उनी बाबुजस्तै भद्र छन् । जीवनशैली हेर्दा सरल नै देखिन्छन् । तर उनी जस्तो अध्ययनशील र कर्मठ युवाले त कानून क्षेत्रमै राम्रो योगदान गर्न सक्थे कि ? पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोराहरुले व्यवसायमा सफलता हासिल गरेजस्तै । आँशु विकाउन माहिर एमालेको फन्दामा लागेर उनले जीवन खेर पो फाल्दैछन् कि ? उनले चुनाव जितिहालेछन् भने पनि ओलीको दम्भ बढाउने बाहेक अरु योगदान उनीबाट हुने देखिन्न । उपचुनावबाट १ सिट थप्ने, माधव नेपालका सांसद चोर्ने र काँग्रेसभन्दा ठूलो पार्टी बनाउने ओलीको दाउमा सुहाङ मोहरा मात्रै हुन् । चुनाव जितेको केहिदिन उनको तामझाम देखिएपनि केहि समयमा त्यो चिसो ढुंगो मात्रै हुने सम्भावना छ ।

सबथोक गर्न सकिने अवस्थामा भुँई नदेख्ने र केहि पनि बाँकी नरहेपछि शीर निहुराएर हिँड्नेहरुबाट देशले के नै पाउँछ र ? हुँदाखाँदाको दुई तिहाईको सरकार तहसनहस पारेर दुई दुई पटक संसद भंग गर्ने व्यक्तिको महत्वाकांक्षा पुरा गर्न सुहाङलाई किन दुःख दिने ? कि त एमालेका महेश बस्नेत, गोकुल बाँस्कोटा, सूर्य थापाजस्तै छुद्र र ओलीको वरिपरि घुम्ने क्षमता भएको भए सरकारी तर मार्न पाउँथे भन्नु, सुहाङको त्यो चरित्र पनि छैन जस्तो देखिन्छ । जीत देखाएर भजन गाउने बाहेक अहिले एमालेका लागि १ सिट संसदमा महत्वपूर्ण पनि छैन । एमालेबाट देशले अब केहि पाउँछ भन्ने गुञ्जायस पनि छैन । जब संसदमा आवश्यकता छैन र पार्टीमा पनि पछि ठाउँ छैन भनेपछि सुहाङ दौडधुप गर्न आवश्यक नै छैन । त्यसैले इलामका जनताले उनको नम्रतालाई सम्मान गर्दै कानूनमा तिम्रो भविष्य छ, संसदमा होइन भनेर सम्झाउनुपर्छ, भोट दिइराख्न आवश्यक छैन ।

नेपालमा नेताका छोराछोरी राजनीतिमा आउँदा के परिणाम भोग्नुपरेको छ भनेर हेर्न सुजाता कोइराला सम्झिए पुग्छ, माओवादी नेताहरुका अधिकाँश छोराछोरीको हर्कत हेरे पुग्छ ।

हुन त दक्षिण एसियाको ठूलो कमजोरी के हो भने यहाँ आँशु छिट्टै विक्छ । अहिलेका विभिन्न युट्युब च्यानल र सामाजिक संजालमार्फत पैसा बटुल्ने व्यवसाय फस्टाएकै कारण पनि आँशु नै हो । इलाम २ पनि आँशु विक्यो भने एमालेको १ अंक बढ्ने मात्रै हो, सुहांगको हैसियत ढ्याप ढ्याप मात्रै हो, देशले केहि पाउने छैन । नेपालमा नेताका छोराछोरी राजनीतिमा आउँदा के परिणाम भोग्नुपरेको छ भनेर हेर्न सुजाता कोइराला सम्झिए पुग्छ, माओवादी नेताहरुका अधिकाँश छोराछोरीको हर्कत हेरे पुग्छ । अब दोस्रो कुराः जित्ने कसले त ? अब ३ जनाले जित्नु हुँदैन भनेपछि पक्कै पनि स्वतन्त्र पार्टीका मिलन लिम्बु हो भन्ने उत्तर आइहाल्छ । तर उनले किन जित्ने ? नेपालमा अहिले चरम राजनैतिक र सामाजिक निराशा छ । वितृष्णा र आवेगले गाँजेको समाज छ । शहरका सटरहरु धमाधम बन्द भइरहेका छन् ।

युवाहरु एअरपोर्टमा लाइन लागिरहेका छन् । तर तीन ठूला पार्टीलाई यसले छुँदैन, यो उनीहरुको चिन्ताको विषय पनि होइन । उनीहरुको उद्देश्य अब छिपेको छैन । उनीहरुको राजनीति नै एउटा चुनावदेखि अर्को चुनावसम्मको तयारी मात्रै हो भन्ने त पञ्चायतपछिका ३० बर्षले देखाइसके । एउटा देशको जीवनमा ३० बर्ष पक्कै पनि सानो कुरा होइन । यो ३० बर्षको अवधिमा विश्वका धेरै मुलुकहरु अति कम विकसितबाट विकसित राष्ट् भइसके । तर नेपालमा एउटा चुनाव गर्यो, ठूलो पार्टी बन्यो अनि अर्को चुनावको तयारीमै पार्टीहरुले समय व्यतित गरे । बीचको समयमा तिकडम, छलछाम, आरोप प्रत्यारोप, लाभहानीको हिसाबकिताब, एकाध काम र गफ चल्यो । अनि त्यसकै आधारमा अर्को चुनावमा भोट माग्ने चक्र दोहोरिरह्यो । बहुदलका १५ बर्ष र गणतन्त्रपछिका १५ बर्षको समीक्षा गर्ने हो भने यी दलहरुबाट अब परिवर्तन सम्भव छैन । यी दलहरुबाट सम्भव पनि छैन भनिरहने तर भोट पनि उनीहरुलाई नै दिइरहने हो भने त्यो जस्तो मुर्खता अरु केहि कोहि हुँदैन ।

परिवर्तन हाम्रै पालामा देख्ने, सुन्ने र हेर्ने हो भने २०८४ को आम चुनावमा विल्कुल नयाँ मान्छेहरुलाई संसद पठाउनुपर्छ । अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टी अझै परीक्षण हुन बाँकी छ । सहकारीको मुद्दाले पार्टीका नेताहरुलाई असिनपसिन पारेपनि शासन सत्तामा ऊ टेष्टेड हुन बाँकी छ । उसलाई एक मौका दिनैपर्छ । आलोपालो चलाएर खिया लागिसकेको मुलुकमा उसले पनि पालो पाउनैपर्छ । उसबाट पनि भएन भने अर्को चुनावमा अर्को विकल्प सोँचौँला । २०८४ को व्यालेट लडाइको छनक अहिले मिलन लिम्बुलाई विजयी गराएर दिनुपर्छ । सचेत नागरिकले मत सुधार गर्दा थुप्रै देश बनेका छन् । मिलन लिम्बुको आफ्नो राजनैतिक पृष्ठभूमि जे भएपनि अहिले उनी स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । उनले जितेमा तत्कालका लागि संसदको अंकगणितमा ठूलो असर पर्ने त छैन ।

तत्काल देशको लागि पनि केहि फाइदा नहोला तर आगामि चुनावको लागि अर्थपूर्ण सन्देश पक्कै जान्छ । जनता परिवर्तनका संवाहक हुने भने वर्तमान प्रमुख पार्टीको विकल्प खोज्नै पर्छ ।

पुरानै पार्टीलाई जिताउने हो भने जनताको लेबलमा पनि अझै अस्थीरता खोजिरहेको र असक्षमहरुबाट शासित हुन लालायित छन् भन्ने अर्थ लाग्छ । यो उपचुनावमा पार्टीको पाइन नाप्ने कुरा विर्सौ, सांकेतिक झापड दिने बेला हो यो । यो चुनावको परिणामले ठूला पार्टीका नेताहरुको घैँटोमा घाम लागे पनि देशलाई फाइदै हुने हो । कम्तिमा २०८४ सम्म राम्रो केहि नभएपनि विठ्याईँ त केहि नहोला । नेपाल बन्नका लागि कि त पुराना पार्टी मुक्त बनाउनुपर्छ कि उनीहरुलाई मीठो सबक सिकाउनुपर्छ । नत्र पुरानै पार्टीका उम्मेदवारलाई विजयी गराउने र फेरि सामाजिक सञ्जालमा रोइलो गर्ने विकल्प त छँदै छ । नयाँ बर्षमा केहि संकल्प गर्नु छ भने सञ्जालमा रोइलो गर्ने बानी सुधारौँ, यो बर्षदेखि आफ्नो भोट सुधार गर्ने प्रण गरौँ । नयाँ बर्ष २०८१ को अवसरमा सबैलाई मंगलमय शुभकामना ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?