साझा कथा । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी–२० एशिया कपमा छनौट हुन असफल भएको हो ।
अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा सेमिफाइनलमा युएईले निकै खराब ब्याटिङ गरेको नेपाललाई ६ विकेटले पराजित गरेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १७.२ ओभरमा केवल चार विकेट गुमाएर एक सय २३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । यो जितपछि युएई प्रिमियर कपको फाइनलमा पुगेको छ ।
अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित यही प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो ।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो । प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ । सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ ।
नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ । आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन् ।