साझा कथा । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट १२ दल र आठ स्वतन्त्र गरी २० जना उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका थिए । जसमा एक जना स्वतन्त्र उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएपछि अब मैदानमा १९ जना उम्मेदवारको भिड्न्त हुने पक्का छ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गत भदौ २५ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । नेम्बाङले करिब तीन दशक लगातार प्रतिनिधित्व गरेको ठाउँमा आफ्नो नतिजा हत्याउन अहिले विभिन्न राजनीतिक दल र स्वतन्त्र युवासमेत व्यापक रुपमा लागिरहेका छन् ।
लामो समयदेखि एमालेको किल्ला बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आकलन गर्न गाह्रो छ । एमालेले आफ्नो बिउ बचाउन नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेद्धार बनाएको छ । २०७९ सालको निर्वाचनमा नेकपा एमाले झिनो मतान्तर (एक सय १४ मत) ले मात्रै विजयी बनेपछि नेपाली कांग्रेस यो क्षेत्रमा यसपटक बाजी मार्ने दाउमा छ । उता राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचान पक्षधरका साझा उम्मेद्धवार पनि जित हात पार्ने दाउमा छन् । प्रतिशपर्धामा १९ जना देखिए पनि मुख्यगरी ४ जना उम्मेदवार बिचको भिडन्त जोडदार हुने देखिएको छ ।
१. नेकपा एमालेबाट सुहाङ नेम्वाङ्ग । उमेर ३२ बर्ष ।
पिता सुवासचन्द्र नेम्वाङ्गको छोरा हुनुबाहेक उनीसँग राजनैतिक योगदान भने केहि छैन । राजनीतिमा भर्खरै होमिएका सुहाङ कानुन व्यवसायीका रूपमा बुबाको बिँडो थाम्दै आइरहेका थिए । उनले आफ्नै ल फर्म ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर नेपाल’ मार्फत काम गर्दै आइरहेका छन् । उनी आफु राजनीतिमा बुवाकै विरासतमा टेकेर अघि बढ्न नखोजेको बताउछन् । ‘पिताकै वैभवलाई खुट्किलो बनाएर अघि बढ्ने भन्दा पनि उहाँले देखाउनुभएको सपना र प्रतिबद्धतालाई रेखदेख गरौं भन्ने लागेको छः सुहाङ भन्छन् । शालिन ब्यक्तित्वका धनी बुवाजस्तै उनको पनि शालिनताले त्यस क्षेत्रको जनताको मन कति जित्न सक्ला ? त्यो सँगै माओवादी सहितका सत्ता गठवन्धका सहयात्री दलहरुले उनलाई मतद्धारा कसरी समर्थन गर्छन् यसमा उनको जित लुकेको छ ।
२. नेपाली काँग्रेसबाट डम्बर बहादुर खड्का । उमेर ४८ बर्ष ।
कांग्रेस जिल्ला सभापति खड्का २०७९ सालको निर्वाचनमा नेम्बाङसँग मात्र १ सय १४ मतले पराजित भएका थिए । नेविसंघ मार्फत पार्टिगत र सामाजिक जिवनमा लामो समयसम्म योगदान पुर्याएका उनि त्यस क्षेत्रका जनतासँग निकट देखिन्छन् । जनताको सुख दुःखमा सँगै उभिने उनि सामाजिक कार्यमा सधै सक्रिय देखिन्छन् । जनताकै बिचमा रहेकाले जनताकै मतबाट विजयी हुनेमा उनि विश्वस्त छन् ।
३. राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार लिम्बु । उमेरः ३२ बर्ष ।
स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटेका उनि रास्वपाले प्राइमरी इलेक्सन गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेद्धारमा उठाएको हो । लिम्बु यसअघि लामो समय पत्रकारिता क्षेत्रमा आबद्ध हुदै आएका थिए । उनी नेकपा (माओवादी केन्द्र) निकट पत्रकार मानिन्थे । तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बुले इलाम–२ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो । माओवादीका कार्यकर्ताले एमालेलाई समर्थन गर्छु भने ता पनि भोट लिम्बुलाई नै हाल्ने धेरैको आँकलन छ । त्यो सँगै रास्वपाप्रति आम सर्वसाधारणको बढ्दो क्रेजका कारण पनि रास्वपाको पक्षमा मत नजाला भन्न सकिन्न ।
४. स्वतन्त्र उमेद्वार डकेन्द्र सिंह थेगिम । उमेरः ६८ बर्ष ।
थेगिम पहिचान पक्षदरवादी उमेद्वार हुन् । जातिय, भाषिक, सांस्कृतिक पहिचानसहितको अधिकार प्राप्तिका लागि उनको उम्मेदवारी भनिएको छ । तर कतिपयले उनलाई जातिय पहिचानको मात्रै वकालत गरिरहेको आरोप लगाइरहेका छन् । अर्थात जातिय आधारमा राज्य माग गर्ने समुदायका प्रतिनिधीको रुपमा उनलाई बुझ्नेहरु पनि छन् । थेगिम प्रदेश पुनः नामकरण अभियान समितिका संयोजक समेत हुन् । किराँत धर्म गुरु आत्मानन्द लिङ्देनका विश्वास पात्रका रुपमा रहेकाले थेगिमको पनि बलियो सम्भावना देखिन्छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रलाई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उठेर धरान उपमहानगरपालिकाका प्रमुख बनेका हर्क साम्पाङको पनि साथ छ । उनले पहिचान पक्षधरको मत तान्ने देखिन्छ ।
मिडियाले माथिका ४ जनालाई मुख्य पात्र बनाएर उभ्याए पनि अन्य दल र स्वतन्त्र उम्मेद्धार पनि कमजोर पात्र भने होइनन् । त्यसमाथि मतदाताहरुको मत हरेक निर्वाचनमा कहाँ पर्छ भन्ने अनुमान गर्न गाह्रो छ । किनकि गत स्थानीय निर्वाचनमा काठमाडौं, धरान, धनगढीजस्ता ठुला सहरमा स्वतन्त्र नयाँ अनुहारहरुले विजय प्राप्त गरेको उदाहरण तपाई हामी समक्ष छदैछ । चुनाव हो हार र जीतको फैसलाका लागी त मतगणनासम्म कुर्नै पर्ने हुन्छ ।