साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् ।
अमिर शेख दुईदिने भ्रमणका लागि पहिलो पटक नेपालको राजकीय भ्रमणमा आएका हुन् ।उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनको आगमनको अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
यस्तो छ अमिर शेखको दुईदिने नेपाल भ्रमण कार्यतालिका:
परराष्ट्र मन्त्रालयका अनुसार अमिर नेपाल आएलगत्तै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् । राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय रात्रिभोजको आयोजना गरेका छन् । सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरु पनि सहभागी हुने बताइएको छ ।
बुधवार १०ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ द्विपक्षीय वार्ता र सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन् ।
अमिर शेख बुधवार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।