साझा कथा । मातातीर्थ औंशी अर्थात आमाको मुहार हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आमा हुनेहरुले आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्ति अर्पण गर्छन् ।
मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।
धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आज बिहानैदेखि आमा नहुनेहरु चाहिँ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा अवस्थित मातातीर्थ कुण्डमा गई स्नान गर्ने र सो ठाउँमा रहेको आमाको प्रतिमा हेर्ने प्रचलन छ । तर, हिजोआज सबै भक्तजनहरु मातातीर्थ कुण्डमा पुग्ने गर्छन् र त्यहाँ विशेष मेला लाग्ने गर्छ ।