मेलम्चीको दुर्दशाः यो वर्ष पनि बर्खामा बन्द हुने

साझा कथा । यो वर्ष पनि बर्खा लागेसँगै काठमाडौंवासीले मेलम्चीको पानी खान नपाउने भएका छन् ।

बाँध क्षेत्रमा भेलबाढी आउँदा रोक्न सक्ने प्रविधि नहुँदा सुरक्षाका लागि बर्खा याममा काठमाडौं पानी पठाउन नसकिने खानेपानी विकास समितिले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै मनसुन सुरु हुनेबित्तिकै यस वर्ष पनि पानी पथान्तरण रोकिने बताइएको छ ।

नेपालमा सामान्यतया जेठ अन्तिम साताबाट मनसुन सुरु हुने भएपनि यस वर्षको मौसम प्रक्षेपण भने भइसकेको छैन । तथापी, सोही समय आसपासबाट मनसुन सुरु हुने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौंमा पानी पठाउन रोकिएको थियो भने माघ १ गतेबाट पुनः वितरण सुरू गरिएको थियो । मेलम्चीको पानी काठमाडौंमा हाल दैनिक १७ करोड लिटर आइरहेको छ ।

सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरूङ सुरक्षाका लागि मनसुन सुरू हुनेबित्तिकै पानी पथान्तरण रोकिने समितिले बताएको छ । हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गतेको बाढीले सुरूङको मुखमा ठुलो क्षति पुर्याएको थियो ।

मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपैयाँ खर्च गरेर गत माघमा अस्थायी तवरले पानी काठमाडौं ल्याएको थियो । जसमा बाढीले कटान गरेको पहुँच मार्ग बनाउन एक करोड र सुरूङ सफा गर्न करिब दुई करोड रूपैयाँ खर्च भएको थियो ।

मेलम्ची खानेपानी परियोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडीबी) हो । हरेक वर्ष काठमाडौंवासीलाई पानी खुवाउन समस्या भएपछि एडीबीले अम्बाथानमा रहेको हेडवक्र्सलाई सर्कथली भन्ने ठाउँमा सार्न सुझाएको छ । अम्बथानबाट सर्कथली करिब एक किलोमिटर दुरीमा रहेको छ । त्यहाँ हेडवक्र्स सार्दा करिब चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?