साझा कथा । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
काम गरेका महिनौँ हुँदा समेत आफूहरूले पारिश्रमिक नपाउँदा बाध्य भएर आन्दोलित हुनुपरेको बैतडी अस्पतालका डा हरिश्चन्द्र विष्टले बताए । उनले भने, “आफुहरु बिरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले रकम भुक्तानी गरेको छैन ।”
विगत नौ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बापतको भत्ता र प्रयोगशालामा काम गरेको बापतको जोखिम भत्ताको रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकले आजदेखि सेवा ठप्प पारेका हुन् । उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिकबाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए ।
बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्टिमेटम शनिबार सकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सक तथा स्वास्थ्यकर्मीको आरोप छ ।