नेपालको रेमिट्यान्स १९.८ प्रतिशतले बढ्यो

साझा कथा । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मुलुकमा भित्रने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्रबैंकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्यांकमा आधारित वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्रबैंकले विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ जुन अघिल्लो वर्ष १३.९ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि ३ लाख २९ हजार ४२२ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख १२ हजार ७२१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ ।

चालू खाता एवं शोधनान्तर बचत

समीक्षा अवधिमा चालू खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६० अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको राष्ट्रबैंकले जनाएको छ ।

पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले घटेर ४ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?