आलुसँग चामल साटेर गुजारा चलाउँने गाउँ

साझा कथा । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका– १० मा पर्ने यो गाउँका बासिन्दाले आलुखेतीबाटै यहाँका जीविकोपार्जन गर्दै आएका छन् । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् ।

रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ । प्रांगारिक मल प्रयोग गरेरै एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् । यो गाउँमा करिब १३० परिवार स्थायी रूपमा बसोबास गर्छन् ।

त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन । गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीयसमेत रहेका पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताए ।

वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन् । प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताए । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उनले जानकारी दिए । रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका ठाउँमा पुग्छ। समुद्री सतहबाट दुई हजार २०० मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन ।

तर भौगोलिक विकटताका कारण उत्पादित सामग्री बजारसम्म पुर्‍याउन समस्या छ । ​रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको जानकारी दिए । यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम र आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनले बताए । अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनको भनाइ छ ।

हाल सडक कच्ची भए पनि आलु बजारसम्म पुर्‍याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट पारे । किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उनले बताए । आलुलाई ‘ब्राण्डिङ’ गर्ने पालिकाको योजना पनि उनले सुनाए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?