सन्दीपको मुद्धा उच्च अदालतमा फैसला हुँदै

साझा कथा । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दाको सुनुवाइ मङ्गलवार (आज) उच्च अदालत पाटनमा हुँदैछ । उच्च अदालतको सुनुवाइपछि केही दिनमै फैसला आउने अपेक्षा गरिएको छ । सुनुवाइपछि सन्दीपको पक्षमा फैसला आएको खण्डमा उनले विश्वकप खेल्ने बाटो खुल्नसक्ने बताइएको छ ।

वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो । त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।

यस अगाडी यो मुद्दामा ४ पटकसम्म पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो । यसपटक उनको मुद्दा पहिलो नम्बरमै रहेकाले सुनुवाइ स्थगित नहुने सम्भावना देखिएको छ । साथै उनको कानूनी टीममा (मंगलवार) वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका छन् । बिडारी थपिएपछि सन्दीपको टीम थप मजबुत बनेको छ । देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी राजनीतिज्ञसमेत हुन् । उनी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । फरक वाककलाका लागि उनी प्रख्यात छन् । उच्च अदालतमा विचाराधीन मुद्दाका लागि सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् । सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टीम छ, जसमा केही कहलिएका नामहरू छन् । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए ।

यस्तै, वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, मुरारी सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन् । टीमको संयोजन भने अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन् । जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको हो । जसकारण सन्दीप लामिछानेको पक्षमा फैसला आउने सक्भावना बलियो बनेको छ ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

पीडित गौशाला २६ को बयान

गौशाला-२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौँ र भक्तपुरको नगरकोटसमेत पुर्याएर फेरि फर्काएर काठमाडौँ ल्याई एक होटेलमा राखेर बलात्कार गरेको बताएकी थिइन् । पीडितको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौँ महानगरपालिका–९ स्थित एक होटेलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले उनीमाथि बलात्कार गरेको दाबी अभियोग पत्रमा गरिएको छ । सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो ।

पीडित किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ । आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौँबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन् । नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौँ फर्किएको किशोरीको भनाइ थियो । काठमाडौँ आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्रावास) बन्द हुने भन्दै एक होटेलमा कोठा बुक गरेर उनीहरू बसेका थिए । सोही होटेलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?