साझा कथा । भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ ।
सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ । राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्याएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो । कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक पनि नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरुको गुनासो छ ।
मंगलबार दिल्लीस्थित नेपाली दुतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको थियो । उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्नभन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए । उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए ।
नालाको काम भनेर लगेकोमा छतको काम गर्न लगाएको उनको भनाइ छ । त्यस्तै धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता, पैसा सबै खोसेर राखेको बताए। काम लगाउनेले मार्नेसम्मको धम्की दिएको उनको भनाइ छ ।
झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दुतावास, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरुलाई उद्धार गरी दिल्ली लगिएको छ ।
घटनामा संलग्न दुई जना अभियुक्तलाई पक्राउ गरिएको छ । नेपाली कामदारलाई एउटै कोठामा थुनेर राखिएको थियो । सामाजिक अभियन्ता सरोज रायले उनीहरूलाई उद्धारको पहल गरेका थिए। सो समूहमा तीन महिनाअघि ४३ जना नेपाली कामका लागि गएका थिए । उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ । घटनामा संलग्न मुख्तकिम आलम र मोहोम्मद साजादलाई पक्राउ गरिएको छ । जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन्। उनीहरुबिरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।