साझा कथा । देशभर करिब दश महिनाको अवधिमा ५ हजार १ सय ३० वटा डढेलोसम्बन्धी घटना भएको छ ।
गत वैशाख महिनामा मात्र तीन हजार २ सय ७० वटा डढेलोको घटना भएको वन तथा भू–संरक्षण विभागको तथ्याङ्काले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनयताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको घटना भएका छन् । विभागको तथ्याङ्कानुसार चालु आवका साउनमा डढेलोको घटना शून्य छ । वर्षातको समयमा पानी पर्ने र वनजङ्गलको पातपतिङ्गर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ ।
यसैगरी विभागको तथ्याङ्कानुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा एक सय तीना आगलागीका घटना भएका थिए । यसैगरी माघमा जम्मा ८३ वटा आगलागीका घटना भए भने फागुनमा डढेलाको सङ्ख्या बढेर दुई सय छ पुग्यो । चैत महिना अझै बढी सुक्खा हुँदै गएपछि डढेलाको घटना पनि बढेर एक हजार चार सय २४ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी वैशाखमा अझै डढेलोको घटना बढेर तीन हजार दुई सय ७० पुग्यो ।
विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म पाँच हजार एक सय ३० वटा आगलागीका घटना भएका छन् । विभागको तथ्याङ्कानुसार यही जेठयता भने ३० डढेलोको घटना भएकामा जनाइएको छ । आज एकैदिन सात डढेलोको घटना भएका छन् । विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको बताए ।
उनका अनुसार डढेलोका कारण बर्सेनि वनजन्य स्रोतको विनास हुनु, वन्यजन्तुको नास हुनु, बासस्थानमा असर पुग्नुलगायतका समस्या उत्पन्न हुने गरेको छ ।डढेलोविद् सुन्दर शर्माका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय हाराहारीमा डढेलाको घटना हुन्छन् ।