साझा कथा । चर्चित टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित ‘द ब्राभो डेल्टा शो’को दोस्रो सिजन सोमबारदेखि प्रसारण हुने भएको छ ।
कार्यक्रम हिमालय टेलिभिजनमा सोमबार राति ८ बजे प्रसारण हुनेछ भने ‘साझा कथा’ युट्युब च्यानलबाट राति ९ बजे प्रशारण गरिने छ । यो टेलिभिजन कार्यक्रमको उत्पादन अल थ्री मिडिया प्रालिले गर्दैछ ।
१ सय २४ भाग लामो यात्रापछि केही समय विश्राम लिएको यस कार्यक्रमको दोस्रो सिजन नयाँ शैली र प्रस्तुतिका साथ पुनः दर्शक माझ आउने लागेको हो ।
‘द ब्राभो डेल्टा शो’को सिजन २ अब अन्तर्वार्ता र बनिबनोट स्टुडियोमा मात्र सिमित नरहने प्रस्तोता भुषण दाहाले जानकारी गराए । समय र परिस्थितिले खोजे अनुरुपको विषयवस्तु र पात्र संसारभरबाट रेकर्ड गरी कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने योजना कार्यक्रम उत्पादक टिमको छ । नेपाली जनजीवनको तस्बिर बनेको यस कार्यक्रमको केन्द्रविन्दुमा सदाझैं देश र जनता रहनेछन् । राजनीतिक र सामाजिक विषयवस्तु कार्यक्रमको आकर्षण हो तर आर्थिक समृद्धि, विकास र जनजीविका अबका प्राथमिकताका क्षेत्र हुन् ।
जनता, समाज र देशको कथा भन्दै तीन दशक लामो टेलिभिजन कर्मको यात्रा पार गरेका टेलिभिजनकर्मी भुषण दाहाल राष्ट्र, राष्ट्रियता, स्वाधिनता र लोकतन्त्रप्रति सधैं प्रतिवद्ध छन् । सबैको आफ्नै शो बनेको ‘द ब्राभो डेल्टा शो’प्रति आम दर्शकको अगाध माया र स्नेह पुनः उसैगरी पाउने अपेक्षा निर्माण टिमको छ ।