ढोरपाटनमा दोस्रो याममा दश नाउर र सात झारलको सिकार

साझा कथा । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो ।

अनुमति पाएका तीन बनेलको सिकार गर्न नसकेको र एक नाउर र एक बनेलको सिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले बताए । सूचना अधिकारी अधिकारीका अनुसार विदेशी सिकारीले नाउर सिकारका लागि प्रतिस्पर्धाका आधारमा २१ लाख राजस्व बुझाएको र एक झारका लागि अधिकतम १८ लाख राजस्व बुझाएका थिए ।

यसवर्ष स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक सिकारी छनोट भएका थिए । सिकारीहरु बन्दोबस्तीका सामग्रीसहित गत फागुन १८ गतेदेखि सिकार खेल्न सुरु गरेका थिए ।

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग जाने गर्छन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिरमा आठ नाउर, चार झारल र आठ बनेलको सिकार गरिएको थियो ।

सिकारका आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एड्भेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्ड लाइफ सफारिजमार्फत सिकारी सिकार खेल्न अनुमति पाएका थिए । यसपटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा सिकार भएको जनाइएको छ ।

विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्गलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

विसं २०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?