पत्रकारिता खोजको परिणाम हो, समाचार भनेकै खोजको प्रतिफल हो । कसैले लुकाउन चाहेको सार्वजनिक महत्वको विषय, विधिविधान विपरित गरिएका कार्य, अनियमितता वा भ्रष्टाचारका घटनाहरुलाई पर्दाफास गर्न सक्नु खोज पत्रकारिता हो । ‘सत्यलाई प्रायः गोप्य राखिने हाम्रो देशमा, सत्यतालाई लुकाउन साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिने हाम्रो देशमा खोज पत्रकारिता मार्फत सत्यलाई उजागर गर्नु आजको आवश्यकता पनि हो । तर, यस्ता काम गर्नु सञ्चारकर्मी, सम्पादक र स्वयम् सञ्चारगृह सञ्चालकका लागि पनि चुनौतिपूर्ण छन् । भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, राजनीतिक तथा प्रशासनिक वेइमानीहरुले राज जमाउँदै गर्दा पनि राज्यको चौंथो अंगको रुपमा परिभाषित सञ्चार जगतले खोज पत्रकारितामा फड्को मार्न नसक्नुमा केही सत्यता छ । पत्रकार, सम्पादक र सञ्चारगृह सञ्चालकहरु नै असुरक्षित रहनु यसको मुख्य कारक हो । देशमा दण्डहिनता मौलाउँदा पत्रकारहरुले जोखिम मोलेर समाचार लेख्न सक्दैनन् । तथापी, चुनौतिकै बीच केही बहादुर खोज पत्रकारहरू त्यस्ता सत्य खबरहरुको पर्दाफास गर्न समर्पित छन् । भ्रष्टाचार, अन्याय र लुकेका वास्तविकताहरू बाहिर ल्याउने जोखिम उनीहरु मोलिरहेका छन् ।
राज्य संयन्त्रकै संलग्नता र संरक्षणमा भइरहेका केही ठुलाठुला भ्रष्टाचार र अनियमितताका घटनाहरु क्रमशः पर्दाफास हुन थालेका छन् । पद र शक्तिको दुरुपयोग गरि गरिएका त्यस्ता घटनाहरु केही बहादुरी पत्रकारहरुले सार्वजनिक गरिदिए । नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी जग्गा प्रकरण, बालमन्दिरको जग्गा प्रकरण, पशुपतिनाथको जलहरी काण्ड, ललिता निवास काण्ड, धितोपत्र बोर्डमा भएका अनियमितता जस्ता जघन्य अपराधहरु विस्तारै खुल्दै गए र दोषि उपर छानविन र कारबाही पनि हुँदै गए । यस्ता विषयहरुको उजागर गर्ने चार पत्रकारलाई बारबरा फाउन्डेशनले सम्भवतः नेपालको इतिहासमा सबैभन्दा ठुलो नगद राशिको पुरस्कारसहित सम्मान पनि ग¥यो । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको अध्यक्षतामा स्थापित फाउन्डेशनले २५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्दै यस वर्षबाट ‘बारबरा इन्भेस्टिगेटिभ जर्नालिज्म अवार्ड’को सुरुवात गरेको हो । सम्मानित हुनेमा कान्तिपुर दैनिकका देवेन्द्र भट्टराई र मातृका दाहाल, उकेला डटकमकी दीपा दाहाल र हिमालखबर डटकमका रमेश कुमार न्यौपाने रहेका छन् । उनै बहादुर पत्रकारहरु ब्राभो डेल्टा शोमा भुषण दाहालसँग प्रस्तुत भएका छन् ।