साझा कथा । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको श्रमाधान रोजगार मेला आज (बिहीबार) देखि सुरु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला बिहीबार कोशी प्रदेशबाट सुरु भएको हो । रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको सो मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।
मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने मन्त्रालयले बताएको छ । । मेलामा रोजगारीको खोजीमा रहेकाहरूले रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउन सकिने छन् ।
सो मेला सातै प्रदेशमा दुई दिन चल्नेछ । । मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहेको छ । मेलामा होटल संघ नेपाल, सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ् कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका स्टल राखिएका छन् ।
मेला कोशी प्रदेशको विराटनगरमा आज (जेठ १७) र भोली १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मतीको ललितपुरमा २९ र ३० गते मेला सञ्चालन हुनेछ । मेलामा देशभरका युवाहरुलाई सहभागिताको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको छ ।