साझा कथा । टी २० विश्वकप क्रिकेट खेल्न अमेरिका जाने तयारीमा जुटेका क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि अमेरिकी दूतावासले भिसा रिजेक्ट गरिदिएको छ ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकपमा सामेल गराउने प्रक्रिया थालेको थियो । जस अनुरुप पहिलो पटक दिइएको अन्तर्वार्तामा दूतावासले भिसा नदिएपछि सन्दीपले पुनः भिसाका लागि आवेदन दिएका थिए । अमेरिका पठाउन खेलकुद मन्त्रालयको विशेष पहलमा परराष्ट्र मन्त्रालयले अमेरिकी दूतावासलाई कुटनीतिक नोट समेत पठाइसकेको थियो । तथापी, बिहीबार अपरान्ह भएको अन्तर्वार्तामा पनि सन्दीपको भिसा रिजेक्ट गरिदिएको छ ।
सन्दीपलाई अमेरिका पठाउन क्यान, खेलकुद मन्त्रालय र नागरिकहरुले सडक संघर्ष समेत गरेका थिए । बिहीबार विहान मात्रै खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त्रिवि क्रिकेट मैदानमा लामिछानेलाई भेटेर अमेरिका जानेबारे आश्वस्त बनाएका थिए ।
गत जेठ २ गते उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो । यो निर्णयसँगै खुशी भएका नेपाली क्रिकेटका फ्यानहरु पुनः निरास बनेका छन् ।
टी २० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेका छन् । टी २० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।
– शिव श्रेष्ठ
Video link: https://fb.watch/spaZgId8gR/