साझा कथा । आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।
खेल नेपाली समय अनुसार राति संयुक्त राज्य अमेरिकास्थित डलासको ग्रान्ड प्रायरी स्टेडियममा ९ः १५ बजेबाट सुरु हुनेछ ।
नेपाली टोली एक दशकपछि टी–२० विश्वकप फर्किएको छ । दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन् । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित अनिवार्य जस्तै छ । समूह ‘डी’ मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ ।
ग्राण्ड प्रेरीमा जारी टी–२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।
नेपालले वार्मअप खेल क्यानडासँग १८४ रनको लक्ष्य पछ्याउनेक्रममा १२० रनमा अल आउट भएको थियो । ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ ।
नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिन आवश्यक छ । लगातार खराब प्रदर्शनमा पनि टोलीले यी दुई ओपनरमा नेपालले साथ दिएको छ । त्यो विश्वास विश्वकपमा प्रमाणित गर्ने अवसर र चुनौती दुवै छ ।
दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किदा सन्दीप जोरा र अनिल कुमार साह मध्ये एक बाहिर हुनुपर्छ । अनिलले अभ्यास खेलमा राम्रो गर्दै आएका छन् । अर्कोतर्फ ओपनरको राम्रो लय नहुँदा तेस्रो नम्बरमा अनिलले खेल्ने सम्भावना बलियो छ ।
तीव्र गतिका बलर प्रतिश जि.सी र कमलसिंह ऐरी बेन्चमा हुने निश्चित जस्तै छ । सन्दीप जोरा र सागर ढकाल पनि बाहिर हुने सम्भावना छ । पहिलो रोजाइका स्पिनर ललितका साथ नेपाल अघि बढ्न सक्छ । डेथ ओभर नेपालको कमजोरीको रुपमा रहँदै आएको छ । डेथ ओभरका प्रमुख बलर अभिनाश बोहराले अतिरिक्त जिम्मेवारी लिनुपर्छ ।
उता नेदरल्यान्ड्स शीर्षक्रमका ब्याटर माइकल लेभिट, म्याक्स ओडाउड र बास डि लिडेमा बढी निर्भर छ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा लेभिटले टीयु मैदानमा नेपालसँग तीनमध्ये दुई खेलमा अर्धशतक र नामिबियाविरुद्ध शतक हान्नै सिरिज जितेका थिए ।
विष्फोटक ब्याटर लेभिट र ओडाउडको विकेट समयमै लिन सके नेपाल खेलमा हाबी बन्न सक्छ ।
नेदरल्यान्ड्सले पार्मअप खेलमा श्रीलंकाविरुद्ध १८१ रन बनाउँदै २० रनको जित हात पारेको थियो । नेदरल्यान्ड्सको मध्यक्रममा स्कट एडवार्ड्स, तेजा निणामानिरु र साइब्राण्ड एंगलब्रेक्ट हुनेछन् ।
नेदरल्यान्ड्सको स्पिन आक्रामण तुलनात्मक रुपमा कमजोर मानिन्छ । तीव्र गतिका बलर पल भान मार्केन, बास डि लिडे र कायल केलिन खेल्ने सम्भावना छ ।
गत मार्चमा नेपाललाई त्रिकोणात्मक सिरिजको फाइनलमा ४ विकेटले हराउन नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य १९.३ ओभरमा पूरा गरेको थियो । उक्त नतिजाले नेदरल्यान्ड्को मनोबल केहि बलियो छ ।
यी दुई टोलीबीच हालसम्म १२ टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ । एक खेलको नतिजा आएको छैन ।