ललितपुरमा चल्दैछ रोजगारको मेला ‘श्रमाधान’

साझा कथा । रोजगारदाता र रोजगारीको खोजी गरिरहेका व्यक्ति लक्षित रोजगार मेला ‘श्रमाधान’ ललितपुरमा सुरु भएको छ ।

स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग पर्याउने मुख्य उद्देश्यका साथ ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मेला सुरु भएको हो । मंगलबारबाट सुरु भएको मेला दुई दिनसम्म चल्नेछ ।

मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिइएको छ । मेलामा रोजगारीको खोजीमा रहेकाहरूले रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउन सक्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बाग्मती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुङ्गा साबित हुने बताए । उनले ‘मेलाले रोजगारी मात्रै होइन, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई कसरी रोजगरीमा जोड्ने, सीपमा निखारता कसरी ल्याउने भन्नेबारेमा पनि जारकारी दिने बताए ।

मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, होटल एशोसिएसन नेपाल, सामी परियोजना, रेमी योजना, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ् कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्षहरु रहेका छन् ।

सातै प्रदेशमा सञ्चालन भएको मेलाको समापन बुधबार गरिनेछ । मेला कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते सञ्चालन भएको थियो । मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?