साझा कथा । महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा निर्माण भएको चलचित्र ‘देवी’ नारीहरुको महान् पर्व हरितालिका तीजमा रिलिज हुने भएको छ ।
चलचित्रको मुख्य पात्र शिल्पा मास्केको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले भदौ २१ गते तीजको दिन चलचित्र प्रदर्शनीको मिति तय भएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सञ्जोग राई निर्देशित चलचित्रमा शिल्पाले पत्रकारको भूमिका निर्वाह गरेकी छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मस्सँगको सहकार्यमा चलचित्र प्रदर्शन हुन लागेको ।
नेपालमा क्राइम थ्रिलर फिल्म त्यति नबन्ने भएकाले आफूले डेब्यू फिल्म नै यौन हिंसा विरुद्ध निर्माण गरेको निर्देशक सञ्जोग राईको भनाइ छ । पूरा फिल्म नेपालमा महिलाहरुले विभिन्न बहानामा भोग्नु परेका यौनजन्य हिंसामा केन्द्रित रहेको उनले बताए । चलचित्रको कथानुसार एक भिजिलान्तेले धमाधम बलात्कारीको हत्या गरिरहेको हुन्छ । उक्त हत्या सही हो वा गलत भन्ने कुरामा चलचित्रले प्रश्न गर्छ । ‘यो इस्युमा नेपालको कानुन बदलिनुपर्छ भन्ने सचेतना दिन पनि फिल्म बनाएको राईको भनाइ छ ।
हरितालिका तीजमा महिलाहरुले आफूमाथि भएको हिंसा ओकल्ने, दुःख पोख्ने र अधिकारका लागि आवाज उठाउने दिन पनि भएकोले सोही दिन चलचित्र प्रदर्शनीको मिति तय गरेको कलाकार शिल्पा मास्केको भनाइ छ । उनको यो ‘परस्त्री’पछिको दोस्रो महिलाप्रधान फिल्म हो ।
चलचित्रमा शिल्पासहित गौरव पहारीले अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर हुसेनले एक संस्था सञ्चालकको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा गौरवका बुवा तथा पाका अभिनेता टीका पहारीले पनि अभिनय गरेका छन् । यो बाबुछोराले पहिलोपटक एकसाथ अभिनय गरेको चलचित्र समेत हो ।