दक्षिण अफ्रिका विरुद्ध जित निकाल्ने दाउमा नेपाल (भिडियो)

Featured Video Play Icon

साझा कथा । लेग स्पिनर सन्दिप लामिछानेको पुनरागमनसँगै नेपालले दक्षिण अफ्रिकासँगको खेलमा जित निकाल्ने सम्भावना बलियो भएको बताएका छन् ।

वेष्ट इन्डिजमा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टिम राम्रो बनेको र पछिल्लो खेलमा सन्दिप लामिछानेको समेत पुनरागमन भएको हुनाले दक्षिण अफ्रिका जस्तो बलियो टिमलाई समेत हराउन सकिने बताएको हो । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अब समूह ‘डी’ चरणको तेस्रो खेल दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल असार १ गते नेपाली समय अनुसार विहान ५ः१५मा सुरु हुनेछ ।

अमेरिकाले भिसा दिन अस्वीकार गरेका कारण अमेरिकाको दुई खेलबाट बन्चित भएका सन्दीपले वेस्ट इन्डिनमा समूह चरणका दुई खेल खेल्ने पक्का छ । सो खेल खेल्न सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन् ।

क्याप्टेन पौडेलले सन्दिपको पुनरागमनले आफूहरुमा आत्मविश्वास बढेको र सोही अनुरुपको प्रदर्शन गर्ने पनि बताएका छन् । नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल भने असार ३ गते बंगलादेशसँग खेल्ने तालिका छ । सो खेल पनि नेपाली समयअनुसार बिहान ५ः१५ बजेबाट नै सुरु हुनेछ । पछिल्ला दुबै खेल जित्न सके मात्र नेपाल सुपर ८ मा पुग्ने सम्भावना बलियो हुन्छ । दुई मध्ये एक खेल मात्रै हारेपनि सुपर ८ मा पुग्ने नेपालको सपना तुहिन सक्छ ।

यसअघि नेपालले समूह ‘डी’ मा रहेका दुई खेलमध्ये पहिलो खेल अमेरिकामा नेदरल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपाल ६ विकेटले पराजय भएको थियो । त्यसपछिको दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाढ्न बाध्य भएको थियो । नेपाल हाल १ अंकका साथ समूहको चौंथो स्थानमा छ । समूह ‘डी’ मा नेपालसहित नेदरल्याण्डस्, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?