साझा कथा । एक समय थियो, जुन समय १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । १८ घण्टासम्मको लोडसेडिङ भोग्नु परेका हामीलाई हिजोआज आक्कलझुक्कल हुने लोडसेडिङले कुनै पीडाबोध गराउँदैन । लोडसेडिङले त्राहिमाम् भएको बेला जेनेरेटरको चर्को शुल्क भोगेर उज्यालो बालेका हाम्रा लागि केही महंगो पर्ने बिजुलीको बिल पनि सामान्य नै लाग्न सक्छ । तर, जलविद्युत र सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेको हाम्रो देशका लागि हामीले हिजोआज भोगिरहेका आक्कलझुक्कलको लोडसेडिङ र महंगो बिजुली बिल दुबै असाधारण हुन् ।
विगत केही वर्षदेखि ऊर्जा क्षेत्रमा भएको उल्लेखनीय सुधारले लगातार उज्यालोमा बस्न पाउँदा र हामीले चाहे अनुरुपको बिजुली प्रयोग गर्न पाउँदा हामी दंग छौं । यतिमात्रै होइन, नेपालले वर्षाको समयमा खपत गर्न नसकेको बिजुली भारतीय बजारलाई बिक्री गरेर आम्दानी समेत गरिरहेको छ । तर, वर्षायाममा भारतलाई सस्तो मुल्यमा विद्युत बिक्री गर्ने नेपाल सुख्खा याममा उनै भारतसँग महंगो मुल्यमा विद्युत किन्न बाध्य छ । यस किसिमको असन्तुलित विद्युत व्यापार र विद्युत उत्पादनमा हुने मौसमी उतारचढावलाई न्यूनीकरण गर्न र कूल उर्जाको लागतलाई कम गर्न सौर्य विद्युत भरपर्दो विकल्प हुन सक्छ ? ब्राभो डेल्टा शोको आजको शृंखलामा हामी यस पटक ऊर्जा विद्युतको विषयमा ऊर्जा विज्ञ डा. शालिग्राम पोखरेलसँग भूषण दाहालले कुराकानी गरेका छन् ।