कमलप्रसाद कोइरालाका बाजे कृष्णप्रसाद कोइराला, जो जहानियाँ राणा शासकलाई चुनौती दिने नेता थिए । उनको बुवा मातृकाप्रसाद कोइराला, जो राणाशासनको अन्त्यपछि बनेको मुलुकको कार्यकारी प्रधानमन्त्री थिए । उनका काकाहरू बीपी कोइराला र गिरिजाप्रसाद कोइराला, जो इतिहासमा सम्झन लायकका प्रधानमन्त्री बने । देशको राजनीतिमा आफ्नै परिवारका सदस्यहरूको गहिरो पकड, दबदबा र हस्तक्षेप । के थिएन र, सबथोक थियो । सत्ता अनि सबै खालका सुविधा । सत्ता, सुख र सुविधाको हिसाबले वर्तमान मात्रै होइन, भविष्यसम्म सुरक्षित थियो ।
पुर्खाहरूको विरासत पछ्याएर जाँदा नेतृत्वमा पुग्न कुनै अप्ठ्यारो थिएन कमलप्रसाद कोइरालालाई । तर, उनै कमलप्रसाद कोइरालाले त्यो सजिलो बाटोलाई पछ्याएनन् । बरु, आफ्नै परिवारका सदस्यहरूले हिँडिरहेको बाटो र देखाएको उज्यालोविरुद्ध खरो रुपमा उभिए । आखिर कमलप्रसाद कोइरालाले किन यस्तो कठोर निर्णय लिए त ? यस पटक उनै कोइराला परिवारका एक मात्र कम्युनिस्ट विचारधाराका पूर्वसांसद तथा पूर्वराजदूत कमलप्रसाद कोइरालासँग सञ्चारकर्मी दिपक अर्यालले अभिलेखमा विशेष कुराकानी गरेका छन् ।