बाँदरबाट बाली जोगाउन ‘वनको बाँदर वनैमा’ कार्यक्रम

साझा कथा । गोरखाको पालुङ्टार नगरपालिकाले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा बाँदरबाट बाली जोगाउन नयाँ नीति लागू गर्ने तयारी गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।

जङ्गली जनावरबाट बाली जोगाउँदा जनावरको अधिकारको ख्याल गरी प्राकृतिक उपायहरू अवलम्बन गर्ने नीति नगरपालिकाले लिएको हो । ‘‘कार्यक्रम कार्यान्वयनका लागि नगरक्षेत्र भित्र बाँदरको बढी प्रकोप भएका क्षेत्र पहिचान गरिनेछ”, नगरप्रमुख चिन्तनले भने, ‘‘सोही आधारमा बाँदरलाई जङ्गलमै रोक्न आवश्यक पहल गर्ने गाउँपालिकाको नीति छ ।’’

कार्यक्रमअन्तर्गत बाँदरलगायत वन्यजन्तुबाट अन्नबाली जोगाउन जङ्गलमा फलफूल तथा बोट बिरुवा लगाउने योजना छ । बढी प्रकोप रहेका क्षेत्रका किसानलाई बाँदरलगायतका बन्यजन्तुले नष्ट नगर्ने किसिमका बाली लगाउन प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

“नगरपालिकाको कतिपय क्षेत्रमा खुर्सानी, अदुवा, जौ, बेसार, टिम्मुर, कागती, कटहरजस्ता बालीको सम्भावना रहेको छ”, उनले भने, ‘‘यस्ता बालीबाट प्रशस्त आम्दानी गर्न सकिने र वन्यजन्तुले पुर्याउने क्षतिबाट जोगाउन सकिने भएकाले आगामी आवमा नगरपालिकाले वन्यजन्तुको प्रकोप बढी भएको क्षेत्रमा यस्ता बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।’’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?