टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो फाइनल यात्रा

साझा कथा । टी-२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलको यात्रा तय गरेको छ । आज अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो ।

एकदिवसीयमा ५ पटक र टी-२० मा दुई पटक सेमिफाइनलबाट घर फर्केको दक्षिण अफ्रिका यस पटक भने सेमिफाइनलमा ऐतिहासि जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । ५७ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै टार्गेट पूरा गर्यो । जसका लागि रिजा हेन्डिक्सले २५ बलमा ३ चौका र १ छक्कासहित २९ रन र एडेन माक्ररमले २१ बलमा ४ चौकासहित २३ रनको योगदान गर्दै नट आउट रहे । ओपनर क्विन्टन डि कक भने तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११ दशमलव ५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडी मध्ये आजमतुल्लाह ओमरजाई बाहेकले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए भने गुलबदिन नैबले ९, राशिद खान र करिम जन्नतले ८-८ रन बनाए । मोहम्मद नाबी र नुर अहमद शून्यमा आउट भए । नविन उल हक र फजलहक फारुकीले २-२ रन बनाए ।

दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १ दशमलव ५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?