देशभरको रिजल्ट बिग्रदा विभूतिले मारेको छलाङ (भिडियो)

Featured Video Play Icon

साझा कथा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यसवर्ष सोचे अनुरुपको आएन । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक नतिजामा ४७ दशमलव ८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् वा उत्तीर्ण भएका छन् । ५० प्रतिशत विद्यार्थी पनि परीक्षामा उत्तीर्ण हुन नसकेपछि अहिले सरकारदेखि विद्यालय, शिक्षक/शिक्षिका र विद्यार्थीहरुका कमिकमजोरीका विषयमा बहस हुन थालेको छ । तर, देशभरका विद्यालयको रिजल्ट खस्किएको अवस्थामा केही विद्यालयले भने एसईई नजितामा उल्लेख्य सुधार गरेका छन् । जसमध्ये एक हो – काठमाडौं वनस्थली (ढुंगेधारा)स्थित विभूति विद्या मन्दिर । केही वर्ष अघिदेखि एसईई रिजल्टमा छलाङ मारिरहेको विभूति विद्या मन्दिरका प्रधानाध्यापक राजेश्वर श्रेष्ठले विद्यालयले उत्कृष्ट नतिजा प्राप्तिका लागि गरेको मेहनतका विषयमा केही शब्द कोरेका छन् ।

विभूति विद्या मन्दिर हामीले २०७० सालमा करिब १ सय ४२ जना विद्यार्थी र अत्यन्तै कमजोर भौतिक संरचनालाई स्वीकार गरेर सुरु गरेका थियौं । हामीले उक्त स्कुललाई विस्तारै सुधार्दै-सुधार्दै लग्यौं । जसका लागि सबैभन्दा पहिला विद्यालयमा अनुशासित वातावरण र गुणस्तरीय शिक्षालाई प्राथमिकता दियौं । त्यो सँगसँगै कमजोर भौतिक संरचनालाई पनि विद्यार्थीको आवश्यकता अनुरुप विस्तार र सुविधासम्पन्न बनाउँदै लग्यौं । परिणामतः आज विद्यालय झण्डै साँढे चार रोपनी क्षेत्रफलमा फैलिएको छ र फरक दुई ठाउँमा विद्यालयको भवन स्थापित छ । जसमा ७ सय ३० विद्यार्थी र ६० शिक्षक/शिक्षिका तथा कर्मचारीहरु संलग्न छन् । यो हाम्रा लागि गर्वको विषय हो ।

हामी विद्यालय परिवार, विद्यार्थी र अभिभावकलाई खुशी दिने अर्को विषय भनेको विद्यालयले हरेक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजा हो । विगत केहि वर्ष अघिदेखि विद्यालयले एसईईमा एक पछि अर्को उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २०७९ को एसईई परीक्षामा विभूति स्कुलबाट दुई छात्र (मनिष चौधरी र मुक्ति जीसी)ले जीपीए ४ ल्याएका थिए भने यसवर्ष रोमन श्रेष्ठले जीपीए ४ ल्याउन सफल भएका छन् । यो ऐतिहासिक नतिजाको श्रेय चाहिँ हाम्रा मेहनती शिक्षक, जिम्मेवार अभिभावक र अनुशासित विद्यार्थीहरुलाई दिन चाहन्छौं । खासगरी हाम्रो बाबुनानीहरुले नतिजा राम्रो ल्याउनुमा विद्यालयको केही विशेष रणनीतिले काम गरेको देखिन्छ ।

सबैभन्दा पहिले त विद्यालयमा अनुशासित वातावरण छ । विद्यालयले बनाएको सबै किसिमका नियम शिक्षक, अभिभावक, विद्यार्थी र कर्मचारीहरु सबैले मान्दै आएका छन् । दोस्रो भनेको हाम्रो एकदमै अनुभवी र दक्ष शिक्षकहरु हुनुहुन्छ । जसले विद्यार्थीहरुलाई कसरी शिक्षा दिँदा उनीहरुले ग्रहण गर्न सक्छन् र राम्रो नतिजा दिन सक्छन् भन्ने कुरा ख्याल गरिकन पढाउनुहुन्छ । तेस्रो विषय भनेको हामी विद्यार्थीहरुलाई निरन्तर व्यक्तिगत फलोअप गर्छौं । यतिसम्मकी हामीले विद्यार्थीलाई घरमा र विदाको समयमा कसरी पढ्ने भनेर रुटिङसमेत दिएका छौं । उनीहरु कति बजे उठ्छन् ? कति बजे सुत्छन् ? विदाको दिन के गर्छन् ? कहाँ जान्छन् ? जस्ता सानासाना विषयहरु पनि अभिभावकसँग अपडेट लिन्छौं र सोही अनुसार अझ राम्रो गर्न प्रोत्साहन गर्छौं ।

यति गर्दागर्दै पनि विद्यार्थीहरुका केही कमिकमजोरीहरु हुन्छन् । त्यसलाई सुधार गर्नका लागि मोटिभेशनल कक्षाहरु पनि सञ्चालन गरिरहन्छौं । हामी दश कक्षाको अभिभावकसँग मात्र एक शैक्षिकसत्र भित्र कम्तिमा २० पटकसम्म मिटिङ गर्छौं । जसको कारण उनीहरुको विद्यालय र घरमा भएको समस्याबारे हामी दुबै पक्ष सजग हुन्छौं र समस्या समाधानका लागि सहज हुन्छ । यसका साथै, हामीले गर्ने अर्को कडा परिश्रम वा मेहनत भनेको हामी हरेक वर्ष माघ महिनापछि (कोर्सको पढाइ सकेपछि) विद्यार्थीलाई राति ९ बजेसम्म विद्यालयमै राखेर प्रधानाध्यापक र सबै मुख्य शिक्षकहरुको निगरानीमा रमाइलो वातावरण सिर्जना गरी पढाउँछौं । यसरी विशेष योजना बनाएर पढाउन थालेपछि विद्यालयले एक पछि अर्को उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?