चार कीर्तिमान रच्दै नेपालले जित्यो एसिया कपको पहिलो खेल

साझा कथा । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले चार कीर्तिमान बनाउँदै विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गर्दै खेलको प्लेयर अफ् दि म्याच बन्न सफल भइन् ।

पूजा महतो ७ रनमा नटआउट रहिन् भने अर्की ओपनर सीता रानामगर ७ रनमा आउँदा कविता कुँवरले २ रन मात्र जोड्न सकिन् । कप्तान इन्दू वर्मा ६ रनमा आउट हुँदा रुबिना क्षेत्री १० रनमा बोल्ड भइन् ।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोडेको थियो ।

नेपालले बनाएको चार कीर्तिमानः

कीर्तिमान १
११६ रन नेपाली महिला टोलीले टी २० आईमा पूरा गरेको हालसम्मको ठूलो स्कोर हो । यसअघि नेपालले महिला टी २० आईमा सर्वाधिक ठूलो लक्ष्य सन् २०२३ मा मलेसियाले दिएको ११० रन पूरा गरेको थियो ।

कीर्तिमान २
नेपालको एसिया कपमा यो पहिलो जित हो । यसअघि नेपालले दुई संस्करणमा कूल ८ खेल खेल्दा जितविहीन थियो । सन् २०१२ मा नेपाल श्रीलंकासँग २० रन, बंगलादेशसँग ९ विकेट र घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको थियो । नेपाल सन् २०१६ मा पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाइल्यान्डसँग ८ विकेट र भारतसँग ९९ रनले पराजित भएको थियो ।

कीर्तिमान ३
युएईले दिएको लक्ष्य पछ्याउँदा सम्झना खड्का नेपालबाट महिला टी २० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् । यसअघि रुविना क्षेत्री बेलबासे, इन्दु बर्मा, सीता रानामगर र पूजा महतोले महिला टी २० आईमा पहिलो इनिङमा अर्धशतक हानेका थिए । लक्ष्य पछ्याउँदा सीताले २०२३ नोभेम्बरमा तान्जनियाविरुद्ध बनाएको ४३ रन नै सर्वाधिक थियो ।

कीर्तिमान ४
सम्झना महिला टी २० आईमा नेपालबाट एकै इनिङमा सर्वाधिक ११ चौका प्रहार गर्ने खेलाडी बनेकी छिन् । उनले गत फेब्रुअरीमा रुविना क्षेत्रीले माल्दिभ्सविरुद्ध शतक हान्दा प्रहार गरेको १० चौकालाई पछि पारेकी हुन् । रुविनापछि सीताले २०२१ मा कतारविरुद्ध ७ चौका प्रहार गरेकी थिइन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?