साझा कथा । सौर्य एयरलाइन्सको प्राविधिक टोली चढेकै विमान अकस्मात दुर्घटनामा परेपछि यसलाई दोलखा भीमसेनमा पसिना आएपछि भएको अनिष्टको रुपमा समेत व्याख्या विश्लेषण गर्न थालिएको छ ।
गत साउन ५ गते अर्थात शनिवार दोलखास्थित विश्वप्रसिद्ध भीमेश्वर मन्दिरको शीलामा पसिना आएको थियो । भीमेश्वरको शीलामा पसिना आउनुलाई देशमा अनिष्ट हुने संकेतको रुपमा लिइदै आएको छ । गत शनिवार दिउँसो १ बजेर ४७ मिनेट जाँदा शीलामा पसिना आएको र योक्रम लगातार दुई घन्टासम्म चलेको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताएका थिए ।
शीलाको बायाँ भाग र मस्तिष्क भागमा पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको थियो र अनिष्ट नहोस् भनेर कामनासमेत गरियो । सोही पसिना पुछेको कपास राष्ट्रपति कार्यालय र गृहमन्त्रालयमा समेत पठाइयो । यसअघि पनि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पसिना पुछेको कपास महाप्रसाद स्वरुप उपलब्ध गराइएको थियो ।
बुधबार विहान अकस्मात भएको सौर्य एयरलाइन्सको दुर्घटनालाई पनि सोही घटनासँग जोडि चर्चा गर्न थालिएको छ । बुुधबार भएको सौर्य एयरलाइन्सको दुर्घटनामा परि १८ जनाको निधन भयो भने एक जना घाइते भए । सौर्य एयरलाइन्सका प्राविधिकहरु चढेको विमान विहान ११ बजेर १५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । प्राविधिक चेकजाँचका लागि पोखरा उडेको सो जहाज धावनमार्ग छाडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो ।
धार्मिक आस्था र विश्वाससँग यस्ता घटनालाई जोडिएर हेर्ने गरिएपनि यस्ता विषयको यथार्थ भने आजसम्म पुष्टि हुन सकेको छैन् । तर, जहाज के कारणले दुर्घटना भएको हो भन्ने कारण भने अध्ययन पछि थाहा हुने नै छ ।