साझा कथा । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘पाटा गोल्ड अवार्ड’को उपाधि यस पटक सिरुबारी नजिकै निर्माण भएको म्हाँजु भञ्ज्याङ पार्क केन्द्रित भिडियोले जितेको छ ।
नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहलगानीमा सञ्चालित जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले सो पार्क स्याङ्जा जिल्लास्थित आँधिखोला गाउँपालिका १ मा निर्माण गरेको हो । पार्क सिरुबारी गाउँबाट केवल ३ किलोमिटर टाढा छ ।
नेपालमा पर्यटकीय गन्तव्यहरुको विकासका लागि समुदाय लक्षित कार्यक्रम गर्दै आएको एसटीएलआरपीले एक सयभन्दा बढी पर्यटकीय पूर्वाधार निर्माणमा काम गरिरहेको छ । जसबाट १० हजार भन्दा बढी अग्रपंतिमा काम गर्ने पर्यटन मजदुरहरु लाभान्वित भएका छन् । नेपालमा कोरोनाको समयमा वेरोजगार बनेका स्थानीय पर्यटन मजदुरहरुलाई रोजगार दिने र पर्यटकीय गन्तव्यको समेत निर्माण गर्ने उद्देश्यका साथ म्हाँजु भञ्ज्याङ पार्कको निर्माण गरिएको थियो ।
नेपालमा एसटीएलआरपीले गरिरहेको काममा एउटा उदाहरणको रुपमा हामीले भिडियोमा म्हाँजु भञ्ज्याङ पार्कलाई प्रस्तुत गरेका थियौं । एसटीएलआरपीका कार्यवाहक राष्ट्रिय परियोजना प्रबन्धक धर्म दवाडी भन्छन् – ‘सोही कामलाई र उत्कृष्ट भिडियो प्रस्तुतिलाई मुल्यांकन गर्दै यस पटक हामीलाई पाटाले गोल्ड अवार्ड प्रदान गगर्यो ।’ विश्वभरबाट प्राप्त सयौं भिडियोहरुबीचको प्रतिस्पर्धामा आफूहरुले गरेको काम र निर्माण गरेको भिडियोले गोल्ड अवार्ड प्राप्त गरेकोमा उनले खुशी व्यक्त गरे । भिडियोको पोष्ट प्रोडक्शन भने अल थ्री मिडिया घरले गरेको थियो ।