उषा ठाकुरलाई १ लाख राशिको युगकवि सिद्धिचरण पुरस्कार

साझा कथा । यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार वरिष्ठ समालोचक एवम् अन्वेषक प्राडा उषा ठाकुरलाई प्रदान गरिएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्तीका अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्राध्यापक ठाकुरलाई एक लाख राशिको पुरस्कारबाट सम्मान गरिएको हो । यस्तै, ४० हजार राशिको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका ओखलढुंगा संवाददाता नवराज कार्कीलाई प्रदान गरियो ।

समारोहमा प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ लोकार्पण गरिएको थियो । गद्य कविताको सम्पादन भने प्राडा देवी नेपालले गरेका थिए । सोही कार्यक्रममा ‘विज्ञका दृष्टिमा युगकवि’ नामक कृति तथा शिशिर योगीको स्वर र सङ्गीतमा तयार भएको युगकविको कालजयी रचना ‘चम्क युवक अब चम्क न चम्क’ गीत पनि सार्वजनिक गरिएको थियो ।

युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्तीको अघिल्लो दिन भने युगकवि सिद्धिचरण गुठीको आयोजनामा काठमाडौंको ओम्बहालस्थित युगकविको प्रतिमास्थलमा एक विशेष श्रद्धाञ्जली सभाको आयोजनासमेत गरिएको थियो । कार्यक्रममा गुठीका अध्यक्ष पवित्र बज्राचार्यको अध्यक्षता, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?