भोटो देखाउने जात्रा (फोटो कथा)

साझा कथा । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाइएको छ  । हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले “यो भोटो कसको हो” भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो । मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जाउलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहदै आएको छ ।

 

रातो मच्छिन्द्रनाथ (भोटो जात्रा)को किवंदन्ती:

नागराजाले ज्यापूलाई उपहारस्वरूप दिएको भोटो राक्षसले चोरेको र जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रा हेर्न त्यही भोटो लगाएर राक्षस आएपछि ज्यापूसँग उसको झगडा परेको किवंदन्ती छ । राक्षस र ज्यापुको विवाद मिलाउनबहुमूल्य रत्नजडित त्यो भोटो रातो मच्छिन्द्रनाथको जिम्मा लगाइन्छ। भोटो जावलाखेल पुगेको चौथो दिनमा कसको भोटो हो, प्रमाणसहित लिन आउनू भनेर देखाइएको जनश्रुति छ । त्यही बेलादेखि हरेक वर्ष यो परम्परा रहँदै आएको मच्छिन्द्रनाथका पूजारी निमराज पानेजूले जानकारी दिए। काठमाडौं उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध यो जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले वि सं ५४६ मा यो जात्रा सुरु गराएको पौराणिक कथन रहेको छ ।

– तस्बिरः प्रकाश गोपाली/साझा कथा

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?