५० बर्षदेखि जर्मनीमा वस्दै आएका रामप्रताप थापा । उनको नाम नेपाल र जर्मनी दुवै देशले पत्याएको नेपाली मध्ये सवै भन्दा अग्रस्थानमा आउँछ । थापाको इमान्दारिता र विज्ञताकों आधारमा सन् २००३ मा नेपाल सरकारले उनलाई जर्मनीका लागि अवैतनिक महावाणिज्यदूत बनायो । दुई दशक भन्दा लामो समय अनवरत रुपमा उनी यो जिम्मेवारी सम्हालीरहेका छन् ।
निश्चित उद्देश्य र लक्ष्य भन्दा, परिवेश र परिवन्दले युरोप आइपुगेका थिए थापा । जर्मनीमै घरजम भएपछि उनले यहाँको प्रतिष्ठित बैंकमा झण्डै तीस बर्ष काम गरे । तर, जन्मभूमिप्रतिको मायाँ र देशको लागि केहि गर्ने हुटहुटीले उनलाई कहिल्यै छाडेन । फलस्वरुप उनले नेपाललाई युरोपसँग जोड्ने बाटोहरु खोज्न थालें । फलस्वरुपः व्यक्तिगत रुपमा र विभिन्न संघसंस्था मार्फत उनि सामाजिक काममा समर्पित हुन थाले ।
सन् २००० मा थापा आफैँले जर्मन नेपाल मैत्रि संघको स्थापना गरे । आजसम्म पनि यो संस्था सक्रिय छ । जुन जर्मनीले विश्वास गरेको सबै भन्दा पुरानो सामाजिक संस्था मध्येमा पर्छ । जर्मन नेपाल मैत्रि संघले जर्मनीमा नेपाली कला साहित्य, भाषा र संस्कृतिको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
पाँच दशक लामो समय जर्मनीमै विताए पनि थापा नेपालबाट कहिल्यै टढा भएनन् । गैर आवासीय नेपाली संघका संस्थापक समेत रहेका उनले संघलाई विवादमा नतान्न अरुका लागि पटक पटक नेतृत्व छाडिदिए । त्यसका बावजुद पनि संस्थामा हुने चरम राजनीति र विवादले उनी निराश बन्ने गर्छन् । आफूले स्थापना गरेको संस्था विवाद रहित एक ढिक्का भएर अघि वढेको हेर्न मन छ उनलाई । त्यसका लागि जुनसुकै भूमिका निर्वाह गर्न र जस्तो सुकै त्याग गर्न पनि तयार रहेको उनी बताउँछन् । नेपाली समुदाय मात्रै नभएर सम्पूर्ण जर्मनीले चिन्ने, मान्ने र पत्याउने व्यक्तित्व हुन् रामप्रताप थापा । सोही ठाउँलाई कर्मथलो बनाइ बसेका थापाको जीवन संघर्ष र सफलताका कथा यस पटकको ‘यो नेपाली शिर उचाली’मा प्रस्तुत गरेका छौं ।