साझा कथा । काठमाडौंको टुषालमा एकदिने थारू लोक चित्रकलामा आधारित अष्टिम्की चित्र कार्यशाला एवं सामूहिक गायन हुने भएको छ । कार्यक्रम भदौ ८ गते भोली (शनिवार) बिहान ११ बजेबाट काठमाडौंको टुषालमा अवस्थित बरघर रेष्टुरेन्टमा हुने भएको हो ।
संरक्षण ओ उत्थानकलाग नाराका साथ ख्याल बगालको आयोजनामा हुन लागेको कार्यक्रममा थारु समुदायको लोक चित्रकलामा आधारित कृष्णजन्माष्टमीका दिन घरको भित्तामा बनाइने अष्टिम्की चित्रकला देखाउने र त्यसको महत्वसँगै चित्र कसरी कोरिन्छ त्यसको बारेमा समेत प्रशिक्षण गराइने भएको छ । अष्टिम्की चित्र बनाउदा गाउँका सबै जनाले मिलेर अष्टिम्की गीत पनि गाइने गरिन्छ । जसका नीम्ति सो कार्यक्रममा कलाकारहरुले सामूहिक अष्टिमकी गीत गाउँदै त्यसको महत्व पनि झल्काइने भएको छ ।
अष्टिम्की अर्थात् कृष्ण जन्माष्टमी पर्वका अवसरमा बनाइने चित्रलाई अष्टिम्की चित्र भनिन्छ । कृष्ण जन्माष्टमी पर्व मनाउने थारुहरुको आफ्नै मौलिक चलन छ । कृष्णजन्माष्टमीको दिन घरलाई अष्टिम्की चित्रकलाले सजाइन्छ र भित्तामा विभिन्न आकृतिका चित्र कोर्ने गरिन्छ । कृष्णजन्माष्टमीताका बनाइने अष्टिम्की चित्रमा मानव जातीको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापलाई चित्रका माध्यमबाट देखाईने गरिन्छ । चित्रमा भएको कला ब्रम्हाण्ड सृष्टिसँग सम्बन्धित हुने मान्यता रहिआएको छ ।
थारू संस्कृतिको उत्थान, युवा पुस्तालाई संस्कृति हस्तान्तरण, लोप हुँदै गएका परम्परागत सामग्रीको जगेर्ना गर्ने हेतुले अष्टिम्की चित्र कार्यशाला गर्न लागिएको आयोजकको भनाइ छ ।