रामप्रसाद सापकोटाको ‘आधा शताब्दी’ लोकार्पणः पुस्तकले बोल्यो पर्यटनको यथार्थ

साझा कथा । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ एक विशेष समारोहकाबीच लोकार्पण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सामुहिक रुपमा पुस्तकको थ्रीडी डमी अनावरण गरि कृतिको लोकार्पण गरेका हुन् ।

कृति लोकार्पण समारोहमा पर्यटन मन्त्री पाण्डेले एक सामान्य किसानको छोरोले छोटो समयमा गरेको व्यवसायिक सफलताको प्रसंशा गरेका थिए । मन्त्री पाण्डेले कृतिले उठान गर्न खोजेको विषयमासमेत चर्चा गरे । आफूले पुस्तकका अधिकांश पाठहरु अध्ययन गरेको भन्दै मन्त्री पाण्डेले व्यवसायमा देखिएका थुप्रै समस्याहरु र त्यसको समाधानका लागि बाटो समेत देखाइदिएकोमा कृतिकार रामप्रसाद सापकोटालाई धन्यवाद समेत दिए । लोकार्पण समारोहमै कृषि मन्त्री रामनाथ अधिकारीले पुस्तक र लेखकको चर्चा गर्दै अब पर्यटनलाई एग्रोटुरिजम तर्फ पनि ढाल्नु पर्ने र त्यसको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का उपाध्यक्षसमेत भइसकेका उनले आफ्नो जीवनकालको ५० वर्ष अर्थात आधा शताब्दीको संमरण पुस्तकमा उतारेका छन् । धादिङ जिल्लाको दुर्गम गाउँ त्रिपुरासुन्दरी ७, अचनेमा जन्मिएर आजसम्म व्यवसायिक रुपमा प्राप्त सफलतालाई उनले पुस्तकमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । १ सय ९२ पृष्ठ लामो पुस्तकमा २० पाठ रहेका छन् । जसमा उनले एक किसानको छोरो काठमाडौं सहरसम्म कसरी आइपुग्यो, काठमाडौंमा आइपुगेपछि उसले पेट पाल्नका लागि कसरी संघर्ष गर्‍यो, गाउँबाट एउटा सपना देखेर सहर छिरेको केटोले कसरी सपना पुरा गर्न मेहनत गर्‍यो, कर्मले उसलाई कताकता डोर्‍यायो अनि भाग्यले उसलाई कति साथ दियो कति हन्डर दियो, विदेशको यात्रा र आइपरेका चुनौति तथा पर्यटन व्यवसायमा देखिएका विकृतिहरुलाई छर्लङ उतारिदिएका छन् । हेलिकोप्टर व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र त्यसको मारमा परेका यात्रुहरुको पीडा, पदयात्रामा जाँदा समस्यामा परेका पर्यटकहरुलाई निजी अस्पताल र बिमाका एजेन्टहरुले गरेको लुट, पर्यटनका बिचौलिया र प्रशासनहरुको मिलेमतो आदिका विषयमा लेखक सापकोटाले यथार्थ पस्केका छन् ।

पुस्तक माथि समीक्षा गर्दै साहित्यकार डा. नवराज लम्सालले पुस्तकले पर्यटनमा एउटा नयाँ बाटो देखाइदिएको बताए । उनले रामप्रसाद सापकोटाले कुनै पनि पार्टीको सदस्यता नलिनु र यथार्थ बोल्नु उनको महानता रहेका चर्चा गरे । त्यस्तै, अर्का समीक्षक सञ्चारकर्मी गोकर्ण अर्यालले किताबमा बाल्यकालदेखि आधा शताब्दी, व्यवसायदेखि निजी जीवन र समस्यादेखि समाधानसम्म सबै विषय समेट्न सकेको बताए । समारोहमा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, पूर्व श्रममन्त्री डीपी अर्याल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । रामप्रसाद सापकोटाको जीवनीमा आधारित आकर्षक वृत्तचित्रसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

समारोहमा लेखक रामप्रसाद सापकोटाले आफ्नो ५० वर्षको अनुभव पुस्तकमा उतारेको बताए । उनले यथार्थ लेख्दा वा बोल्दा कसैलाई चोट पर्न सक्छ तर त्यसलाई वास्तविकता हो र हामी सच्चिनु पर्छ भन्ने भावले गृहण गर्न आग्रह गरे । उनले पुस्तकमा धेरै फूलबुट्टा नभरेको र आफ्नो जीवनको भोगाइ नै लेखेको प्रष्ट पारे । सापकोटाले अब शताब्दीको यात्रालाई अझ व्यवसायिक र सेवामुलक बनाउने प्रतिज्ञा गर्दै कृति अध्ययन गरेर सुझाब दिन सबै पाठकमा आग्रह पनि गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?