न्यौपानेको अध्यक्षतामा टिबानमा नयाँ कार्यसमितिः पर्यटक बसपार्क पहिलो प्राथमिकता

साझा कथा । टुरिष्ट बस एसोसिएसन अफ् नेपाल (टिबान)को १३ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनले भिष्मप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा दीपक भट्टराई , द्वितीय उपाध्यक्षमा अशोक अर्याल, महासचिवमा प्रकाश चन्द्र अधिकारी र कोषाध्यक्षमा चिरञ्जीवी गिरी रहेका छन् । त्यस्तै , कार्यसमिति सदस्यमा रमेश पौडेल र सुजन दाहाल रहेका छन् । नवनिर्वाचित कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ ।

अध्यक्ष निर्वाचित भएपछि साझा कथासँग कुराकानी गर्दै अध्यक्ष भिष्म न्यौपानेले संस्थाले गर्दै आएका वार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै काठमाडौंमा सुविधासम्पन्न पर्यटक बसपार्क बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले पर्यटक बसपार्क नहुँदा हरियो प्लेटका सवारीसाधन पार्किङमा ठूलो समस्या आएको, पर्यटकहरुलाई चढ्न र झर्नका लागि सास्ती भएको तथा यसले विश्वभर नकारात्मक सन्देश गएको पनि बताए ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका सदस्य मदनकुमार आचार्यले पनि पर्यटक बसपार्क आजको आवश्यकता रहेको बताए । त्यस्तै, निवर्तमान अध्यक्ष कृष्ण आचार्यले स्व. रविन्द्र अधिकारीको पहलमा पोखरामा पर्यटक बसपार्क बने पनि पर्यटक बसहरुलाई सहज नभएको गुनासो गरे । त्यस्तै, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले पर्यटन सम्बद्ध सबै व्यवसायीहरुको संस्था एकजुट हुन सके मात्रै सबै किसिमका समस्याहरुको समाधान हुने बताए । मन्तव्यको क्रममा नेपाल पर्वतारोहण संघका कार्यवाहक अध्यक्ष ठाकुरराज पाण्डेले पर्यटक बसपार्कका लागि लैनचौरस्थित स्काउट पछाडिको खुल्ला स्थान उपयुक्त हुने धारणा राखे । उनले सो ठाउँमा अन्डरग्राउन्ड बसपार्क बनाउन सकिने बताए ।

उद्घाटन सत्रमा मन्तव्यको क्रममा नाट्टाका अध्यक्ष कुमारमणी थपलियाले राज्यले पर्यटन व्यवसायीहरुलाई हेर्ने नजर सुधारिनु पर्नेमा जोड दिए । उनले विश्वभरका पर्यटक ल्याउन छिमेकी देशहरुसँग प्रतिस्पर्धा गर्नु परेपनि राज्यले भने नेपाली पर्यटन व्यवसायीहरुलाई त्यस्तो कुनै सुविधा दिन नसकेको गुनासो गरे । त्यस्तै, टिबानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले होटल पछिको ठुलो लगानी हरियो प्लेटका सवारीसाधनमा भएको भन्दै राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

साझा कथासँगको कुराकानीमा पूर्व अध्यक्ष ईश्वरप्रसाद उपाध्यायले पर्यटन ऐनले आन्तरिक र वाह्य दुबै खालका पर्यटकलाई पर्यटकको मान्यता दिएपनि यातायात ऐनले आन्तरिक पर्यटकलाई मान्यता नदिदा हरियो प्लेटका यातायातले थप दुःख झेल्नु परेको भन्दै यातायात ऐन तत्काल संशोधन गर्न आवश्यक रहेको बताए । ऐन संशोधन नहुन्जेल पर्यटक यातायात व्यवसायीहरुको समस्या समाधान नहुने उनको तर्क थियो ।

१३ औं वार्षिक साधारणसभाकै अवसरमा टिबानले पर्यटक बसको टिकट लिनका लागि www.nepaltouristbus.com.np नामको एपको सुभारम्भ गरेको छ । एक वर्ष अघि परीक्षण कालको रुपमा सुरु गरेको सो एप यात्रुहरुका लागि लाभदायक र व्यवसायीका लागि पनि प्रभावकारी भएको भन्दे आधिकारिक रुपमा यसको सुभारम्भ गरेको अध्यक्ष भिष्म न्यौपानेले बताए । सोही कार्यक्रममा यात्री नामक स्मारिकाको समेत विमोचन गरिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?