पर्यटनमा चर्चाः पर्यटन नीतिलाई खोट लगाएको ‘आधा शताब्दी’

‘अविश्रान्त भावले यात्रा गरिरहने व्यक्तिलाई नै सम्पत्ति प्राप्त हुन्छ । बसिरहने व्यक्तिको भाग्य पनि बसिदिन्छ । उठेका व्यक्तिको उठ्छ । सुतिरहने व्यक्तिको भाग्य सुतिदिन्छ र पर्यटनशील व्यक्तिको भाग्य पनि दिनप्रतिदिन बढ्दै जान्छ ।’

माथिको अनुच्छेद हिन्दूहरूको पवित्र धार्मिक ग्रन्थ ‘ऋग्वेदमा उल्लिखित छ । ‘आधा शताब्दी’ संस्मरण कृतिका लेखक रामप्रसाद सापकोटाको जीवनमा माथिका कुरा शतप्रतिशत मेल खान्छन् । पर्यटन क्षेत्रमा पथप्रदर्शक भएरै उनले कसरी पहिलो पाइला चाले ? त्यसबाट जीवनमा कस्तो उन्नति गरे ? त्यो थाहा पाउन किताब पढ्नै पर्छ ।

बीस शीर्षकमा विभाजित आधा शताब्दी कृतिभित्र लेखकले भोगेका जीवनका आरोह अवरोहहरू लिपिबद्ध छन् । पर्यटनकै माध्यमले जुराएको विदेश यात्राले उनको जीवनको लय फेरिएको छ । आर्थिक उपार्जनको दरिलो आधार प्राप्त गर्दै गएका छन् । कामले काम सिकाउँदै जान्छ भन्ने मान्यतामा उनको जीवनका खुड्किलाहरू अघि बढिरहेका छन् । आफ्नो लागि मात्र नसोची जन्मभूमि र मानवताका पक्षमा काम गर्दा अनेक विघ्न बाधाले उनलाई अल्झाइरहेको छ तैपनि उनी हार खाँदैनन् ।

कानुनी रूपमा स्पष्ट नीति निर्माण नभएकै कारण पर्यटकसँग लिन सकिने सुविधा पाउन नसकेको कुरा उनी उदाहरणसहित पुस्तकमा उल्लेख गर्छन् ।

नदीको ढुङ्गा यता पल्टिदाँ उता पल्टिदाँ अनि बग्दैबग्दै गएर अझै चिल्लो बनेझैँ उनी जीवन यात्रामा खारिदैँ खारिदैँ जान्छन् । विदेशी दाता खोजीखोजी बनाएको स्कुल माओवादी द्वन्द्वकालमा भत्काइएपछि उनको मन पनि भत्किन्छ । दुःखी बन्छन् तर पनि उनी हरेश खाँदैनन् । निरन्तर आफ्नो गन्तव्यमा अनवरत लागिरहन्छन् । यही स्वभावका कारण छोटो समयमै पर्यटनका क्षेत्रमा उनले सफलता हासिल गर्दै जान्छन् ।

यात्राका क्रममा उनले थुप्रै देशहरू घुम्ने मौका पाउँछन् । तीमध्ये भुटानबाट प्रभावित बनेको कुरालाई कारणसहित पुस्तकमा उल्लेख गर्छन् । स्पष्ट पर्यटन नीतिकै कारण भुटानले पर्यटन क्षेत्रमा फड्को मारेको र नेपाल पछाडि परेको देख्दा उनी दुःखी बन्न पुग्छन् । कानुनी रूपमा स्पष्ट नीति निर्माण नभएकै कारण पर्यटकसँग लिन सकिने सुविधा पाउन नसकेको कुरा उनी उदाहरणसहित पुस्तकमा उल्लेख गर्छन् ।

पाठक आफ्नो लेखनीमा तानिरहूँन भन्ने ध्याउन्नमा लेखक सचेत देखिन्छन् । लेखकका जीवनकथाहरू पढिरहेको पाठक जब पर्यटनका विषयमा प्रवेश गर्छ तब यो शीर्षक सकेर पुनः जीवन सङ्घर्षकै कथा पढूँ भन्ने हुटहुटीमा कुदिरहेको हुन्छ । हरेक पाठकलाई मानिसको व्यक्तिगत जीवनप्रति चासो हुने रहेछ । लेखकको जीवन भोगाइका उपक्रमहरु पढ्दै जाँदा आप्तवाक्यझै लाग्ने लेखकका कतिपय विचारहरूमा पाठक टक्क रोकिन्छ र दोहोराएर पढ्न थाल्छ:
– जीवनमा धेरै कुरा सहनसक्ने व्यक्ति खारिएर सुनजस्तै तेजिलो बन्न सक्छ । (पृष्ठः ५१)
– संसारमा सबै एकै किसिमका मानिस हुँदैनन् । तिनका सोचाइ र चिन्तन पनि फरकफरक हुन्छन् । (पृष्ठः ५५)
– स्वस्थ मानिसको जाने ठाउँ सबैतिर हुन्छ तर रोगी मानिसको जाने ठाउँ नचाहेर पनि दुईवटा मात्र हुने रहेछ, पहिलो अस्पताल दोस्रो चिहान । (पृष्ठः ९१)
– खोजे फेला पर्छ, हिँडे बाटो कट्छ । (पृष्ठः १०४)
– मलाई लाग्छ, संसारका मानिसहरू जहाँ जसरी छरिएर रहे पनि यो विश्व नै मानव समुदायको सिङ्गो परिवार हो । (पृष्ठः १७६)

नेपाल घुम्न आउने पर्यटकप्रति इमानदारीता र असल व्यवहारले प्रभाव पार्न सकियो भने नेपालमा पर्यटकको ओहोरदोहोर चलिरहन्छ भन्ने उनको स्पष्ट विचार छ ।

पर्यटनलाई आधार बनाउन सक्ने हो भने कोही पनि विदेशमा कठोर श्रम गर्न जान पर्दैन । यो यथार्थलाई उनले आफ्नो अनुभवबाट पुष्टि गरेका छन् । नेपाल घुम्न आउने पर्यटकप्रति इमानदारीता र असल व्यवहारले प्रभाव पार्न सकियो भने नेपालमा पर्यटकको ओहोरदोहोर चलिरहन्छ भन्ने उनको स्पष्ट विचार छ । हिमालको हिउँ, भौगोलिक विविधता, जीवनशैली र सुन्दर प्राकृतिक सौन्दर्यका कारण पर्यटकको रोजाइमा नेपाल पर्ने गर्छ । हामी पर्यटकलाई नेपाल अड्याउन सक्ने नीतिका अभावका कारण पछाडि परेका छौँ । सोचेजति फड्को मार्न सकेनौँ भनी उनी चिन्ता व्यक्त गर्छन् ।
एउटै रोगको लागि आफू चार चारपटक अपरेशन गर्नुपर्ने अवस्थामा पुर्याएका असक्षम डाक्टर र अस्पतालप्रति उनको चरम वितृष्णा प्रकट भएको छ । यहीकारण उनी अध्यात्म, प्राकृतिक चिकित्सा र खानपानप्रति तानिएका छन् । पर्यटन व्यवसायका विकृतिप्रति पनि उनले रोष प्रकट गरेका छन् । कसैले उन्नति गर्नेबित्तिकै खुट्टा तान्ने प्रवृत्तिप्रति उनी दुःखी हुन्छन् ।

लेखनमा लेखकीय इमानदारीता देखिनु महत्वपूर्ण कुरा हो । वास्तवमा लेखकको यो एउटा ठूलो पुँजी पनि हो । आधा शताब्दीका लेखकले त्यो विश्वसनीयता कायम गरेको महसुस पाठकलाई हुन्छ । आफ्ना सन्तानलाई जस्तो संस्कार दियो । त्यस्तै बन्छन् भन्दै उनले आफ्ना दुई छोरालाई स्वदेशमै बसेर पर्यटन क्षेत्रमा स्थापित गराउन खोजिरहेका छन् । यो देशमा केही हुँदैन भन्दै स्थापित हुन लागेको भाष्यनिर्माणमा यो गतिलो उदाहरण हुन सक्छ ।

लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरेजस्ता कालजयी कविका कविताका अंश बडो सान्दर्भकिताका साथ पुस्तकमा जोडिएका छन् । यसबाट लेखकको साहित्यिक मोह तीब्र रहेको कुरा महसुस गर्न सकिन्छ । विदेशी लेखकका प्रेरणादायी पुस्तक पढ्ने स्वभावले लेखकको बौद्धिकता खारिदै गएको महसुस गर्न सकिन्छ । वेदव्यासको कवितांशदेखि जे. स्वार्ज र ब्रायन टेसीको पुस्तकबारे उनी चर्चा गर्छन् । स्वामी सच्चितानान्दद्वारा लिखित ‘चरित्र विज्ञान’ बाट आध्यात्मिक क्षेत्रतर्फ प्रेरित हुन्छन् । आफ्नो जीवनको उकालीओरालीलाई पुस्तकका रूपमा दस्तावेज कायम गर्ने चेतना पनि यिनै पुस्तकहरूले दिएको अनुभूत पाठकलाई हुन्छ ।

छोरा र छोरीबीचको विभेद हाम्रो समाजले अहिले पनि भोगिरहेको छ । लेखक जन्मिदाँको तत्कालीन परिवेशमा झन् बढी थियो । धादिङको ग्रामीण परिवेशमा कान्छा सन्तानको रूपमा उनको जन्म भयो । परिवारमा छाएको खुसीलाई जोगाउने जिम्मेवारी बडो मिहिनेतका साथ उनले चिरकालसम्म गरे र कुलदीपक बने । उनले गरेको सङ्घर्ष हामी सबैका लागि प्रेरणादायी छ ।

आजभोलि प्रकाशित धेरै पुस्तकमा अङ्ग्रेजी भाषाका शब्द बिना हिचकिचाहट प्रयोग गरेको देखिन्छ । यसबाट यो किताब पनि अछुतो छैन यद्यपि नेपाली भाषाका मौलिक शब्दको प्रयोगमा केही सचेतता अपनाएको महसुस हुन्छ । भाषा सलल बगेको छ । अझै व्याकरणीय शुद्धतामा पनि राम्रोसँग ध्यान पुर्याउन सकेको भए पुस्तक अझ राम्रो बन्ने थियो । आधा शताब्दीको उमेरमै पर्यटन क्षेत्रका लागि उल्लेखनीय योगदान दिने उनको जीवन अझै ऊर्जाशील र क्रियाशील छ । जीवनलाई यति धेरै बुझ्ने मानिसको बाँकी जीवन अझै उल्लासमय र उदाहरणीय बन्नेमा द्विविधा छैन । आफ्ना अनुभवको अभिलेखीकरण गरेर हरेक पाठकलाई उत्प्रेरणा दिने यो काम स्तुत्य छदैँ छ । एक सय असी पृष्ठमा फैलिएको यस कृतिले सबैलाई ज्ञानको अक्षुण्ण काव्यरस प्रदान गरोस् धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।
पुस्तकको नामः आधा शताब्दी
लेखकः रामप्रसाद सापकोटा
विधाः संस्मरण
प्रकाशकः हिमालयन सोसल जर्नी ट्रेकिङ, काठमाडौँ
मूल्यः रु ५००

 

 – प्रभा बराल

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?