साझा कथा । बाँकेको नरैनापुर गाउँपालिकामा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापानिजइन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिए ।
उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताए ।
‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापानिजइन्सेफ्लाइटिसको भएको पुष्टि भयो,’ उनले भने । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ।
उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको बताए ।
चिकित्सकका अनुसार सुँगुर र चरामा जापानिजइन्सेफ्लाइटिसका भाइरस हुन्छन् ।
ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमित गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापानिजइन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए ।