दशैंअगाडि नै काठमाडौंमा मेलम्चीको पानी

साझा कथा । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ । काठमाडौंमा मेलम्चीको पानी पठाउनका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

‘मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौंमा ल्याउने तयारीमा छौं,’ उनले भने । सोही योजनाअनुसार अहिले काठमाडौंमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको पनि लामिछानेले जानकारी दिए ।

वर्खायाम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौं उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको लामिछानेले बताए ।

काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ ।

काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?