साझा कथा । हिन्दूहरूको महान् पर्व बिजया दशमीको पहिलो दिन घटस्थापना तथा नवरात्रीको आरम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ९ बजेर १६ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । यसै गरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसती र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ ।
यस अवसरमा बिहिवार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ । बिहान ९:१६ मिनेटको शुभसाइतमा दसैँ घरमा घटस्थापना गरिएको हो ।
दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।
यो वर्ष दसैँको टीकाको साइत असोज २६ गते ११ः३६ बजे
नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।
असोज २६ गते देवी विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ः३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।