साझा कथा । देशकै प्रतिष्ठित भनेर परिचित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्ञानप्रसाद रिमालको मृत्यु भएपछि उनको परिवार न्यायको खोजिमा हिडेको छ ।
धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका घर भई काठमाडौं वनस्थलीमा बसोबास गर्दै आएका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर, उपचारको क्रममा चिकित्सकले गलत औषधिको प्रयोग गरेको र उपचारमा लापरबाहीसमेत गरी अकालमा मृत्यु भएको भन्दै उनका छोरा प्रताप रिमालले अस्पताल विरुद्ध मुद्धासमेत दायर गरेका छन् । ललितपुर जिल्ला अदालतमा दायर गरेको मुद्धामा पाँच करोड रुपैयाँ क्षतिपूर्तिसमेत दाबी गरिएको छ ।
ज्ञानप्रसाद रिमाललाई मुटुको उपचार र किड्नीको डायलासिसका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा गत असोज १ गते भर्ना गरिएको थियो । तर, हातमा सङ्क्रमण भएपछि उनको मृत्यु भएको थियो । एउटा रोगको उपचार गराउन जाँदा अर्कै कारणले बुबाको मृत्यु हुन पुग्यो । सुविधासम्पन्न भनि लाखौं रुपैयाँ असुल गर्ने अस्पतालले आईसीयूमा भएको बिरामीलाई समेत लापरबाही गर्दा यो दिन भोग्नुपर्यो । छोरा प्रताप रिमालले साझा कथासँग गुनासो पोखे – ‘अस्पतालले बिरामी कुरुवा बस्नु पर्दैन भन्ने अनि आफूले पनि केयर नगर्ने ।’ बुबाले रातभर दुख्यो, परिवारलाई बोलाइदेऊ भन्दा पनि अस्पतालले आफूहरुलाई खबर नगरेको उनको गुनासो छ । दुखाई कम गर्ने औषधि फेन्टाइल अत्याधिक खुवाइएको, आईसीयूमा रहेका नर्सिङ टिमले लापरबाही गरेको र बुबाको उपचारका क्रममा डाक्टरले नै झुट बोलेको भन्दै छोरा प्रतापले अन्यायको विरुद्ध अदालत र नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी दिइएको जानकारी गराए ।
लपरबाहीकै कारण बुबाको हातमा समस्या आएको र उपचारको अरु कुनै विकल्प नभएपछि हातको अप्रेसन गर्नु परेको उनको भनाइ छ । सोही कारण अत्याधिक रक्तस्राव भएर बुबाको मृत्यु भएको परिवारको दाबी छ । अस्पतालले गल्ति गरेका थुप्रै प्रमाणहरु आफूसँग रहेका कारण मुद्धा जित्नेमा पनि परिवार ढुक्क छ । ‘हामी न्यायालयलाई विश्वास गर्छौं । आशा छ अदालतले न्याय दिनेछ ।’ अस्पतालले उपचारमा लागेको कुनै पनि शुल्क नलिएको पनि प्रतापले बताए । उनी भन्छन् – ‘हामीले शुल्क फिर्ता दिन कुनै दबाब दिएका थिएनौं तर अस्पतालले गल्ति स्वीकार्दै सबै रकम फिर्ता दियो ।’ रिमालकी छोरी ज्योति रिमाल पनि चिकित्सक हुन् । उनी हाल अमेरिकामा कार्यरत छिन् । प्रताप भन्छन् – ‘उपचारको क्रममा दिदी नभइदिएको भए हामीलाई अस्पतालको कमजोरी थाहा हुँदैनथ्यो ।’ डाक्टरले पटकपटक टेपको एलर्जी भन्दै आफूहरुलाई टारेको उनको गुनासो छ ।
यसैबीच, मेडिसिटी अस्पतालले परिवारको गुनासोपछि छानबिन समिति गठन गरेको थियो ।
पाँच सदस्यीय छानबिन समिति गठन गरेपनि त्यसको निश्कर्ष भने अस्पतालले सार्वजनिक गरेको छैन । यसै विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणासँग कुराकानी गर्न खोज्दा उनी बोल्न चाहेनन् । पटकपटक फोन गर्दा उठाएनन् भने पछि उनैले कलव्याक गर्दा आफू व्यस्त रहेको भन्दै फोन राखिदिए ।
भिडियो तल लिंकमा उपलब्ध छ ।