Ad Banner

२० देशका ५३ कलाकारहरू कीर्तिपुर सम्पदा पदयात्रामा

साझा कथा । नेपाल ट्याटु सम्मेलन २०२५ मा सहभागी हुन आएका २० विभिन्न देशका ५३ जना अन्तर्राष्ट्रिय ट्याटु कलाकारहरूले मिति २०८२ चैत २८ मा कीर्तिपुर सम्पदा पदयात्रामा सहभागी भएका छन् ।

उनीहरूले ऐतिहासिक शहर कीर्तिपुरको समृद्ध सांस्कृतिक र वास्तुकलागत सम्पदामा आफूलाई डुबाएर अनुभव सँगाले । पदयात्राका सहभागीहरूलाई कीर्तिपुर सामुदायिक होमस्टेले हार्दिक स्वागत गरेको थियो । जसले यहाँको विशिष्ट आतिथ्यभाव र समुदायमा आधारित पर्यटन अभ्यासलाई झल्काउँछ । यो पदयात्रा कीर्तिपुर स्वयंसेवक समाजद्वारा संयोजन गरिएको हो । पदयात्रालाई कीर्तिपुर गाइड एसोसिएसनले सहयोग गरेको छ ।

पदयात्राको क्रममा कलाकारहरूले चिलान्चो स्तूप र बाघ भैरव मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका सम्पदास्थलहरूको अवलोकन गरे । पदयात्रा केवल दृश्य अवलोकनमा सीमित नभई नेपाली जीवनशैली र जीवित सम्पदासँग अन्तरक्रियाको माध्यम बन्यो ।

पदयात्रामा सहभागी कलाकारहरू अमेरिका, बेलायत, जर्मनी, अस्ट्रिया, अष्ट्रेलिया, भारत, सिंगापुर, इटाली, इन्डोनेसिया, कम्बोडिया, फ्रान्स, कोस्टारिका, स्पेन, चीन, टर्की, हङकङ, युक्रेन, अर्जेन्टिना, क्यानडा र नेपालबाट आएका थिए । नेपाल ट्याटु सम्मेलन २०२५ आगामी अप्रिल ११ देखि १३ सम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा आयोजना हुँदैछ ।

यो पढ्नु भयो ?