साझा कथा। उद्यमशीलता, नवप्रवर्तन तथा लघु ऊद्यमको सशक्तिकरणका विषयमा नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र ऊद्यमशील कांग्रेसको संयुक्त आयोजनामा “नीति तथा बजेट संवाद कार्यक्रम” सम्पन्न भएको छ । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममाउद्यमशीलताका बहुआयामिक सवालमा गहन संवाद तथा अन्तरक्रिया भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा अथाह सम्भावना भएको जलविद्युत, कृषि लगायतका क्षेत्रलाई महत्व दिदै सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले अर्थतन्त्रमा दोश्रो तहको सुधार भए मात्र देश समृद्ध हुनसक्ने बताउनुभयो । सार्वजनिक महत्वका पूर्वाधार निर्माण र मर्मतमा सरकारले ध्यान दिनुपर्ने उहांको भनाई थियो ।
उद्यमशिल कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशिलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफल मार्फत साझा धारणा बनाउने उद्देश्यले छलफलको आयोजना गरिएको बताउनुभयो । उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरुलाई निरन्तर रुपमा उठान गरिरहने र आगामी दिनमा सरोकारवाला पक्षसंग छलफल जारी राख्ने बताउनुभयो । कार्यक्रममा उद्यमशीलता क्षेत्रमा कार्यरत जेन जी पुस्तादेखि नीति निर्मातासम्मको उपस्थिती थियो ।